
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)लाई संसद् पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभएको छ ।
बुधबार राजनीतिक दलहरूसँगको छलफलका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको बताउनु भयो । निर्वाचनको घोषणापछि पनि कुनै-कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने उहाँले बताउनु भयो ।
संसद् पुनःस्थापनको कुरा गर्नुले विगतको राजनीतिक दुर्घटना दोहोर्याउन खोजेको पुष्टि हुने उहाँले बताउनु भयो । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको उहाँकाे भनाइ छ । दलको साथ, सहयोग र सहभागिताबिना पनिर्वाचनको परिकल्पना गर्न नसकिने भन्दै मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनैपनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहर हुने बताउनु भयो ।