काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा एक महिनादेखि जारी महाकुम्भ मेलामा आज माघी पूर्णिमाको अवसरमा करिब दुई करोड श्रद्धालुले महास्नान गरेका छन् ।
माघी पूर्णिमाको अवसरमा महास्नानका लागि आज संगम घाटसहित ४४ वटा घाटलाई सञ्चालनमा ल्याइएको छ । भारतीत सञ्चारमाध्यमका अनुसार माघी पूर्णिमाको स्नान हिजो साँझ शुभ साइतमा सुरु भएको थियो। राति अबेरसम्म संगम घाटमा ठूलो संख्यामा श्रद्धालुहरु पुगेका थिए भने बिहान यो संख्या ह्वात्तै बढेको बताइएको छ ।
आज स्नान गर्ने आउने श्रद्धालुहरुको स्वागतमा राज्य हेलिकप्टरमार्फत २५ क्विन्टल फूल बर्साएको थियो । यस्तै मेला प्रशासनले करिब साढे दुइ करोड श्रद्धालुले पवित्र त्रिवेणीमा पवित्र स्नान गर्ने अनुमान गरेको छ ।
२९ जनवरीमा भएको अमृतस्नानका बेला भगदौड मिच्चँदा ३० जनाको मृत्यु भएको विषयलाई ध्यानमा राख्दै माघी पूर्णिमा अवसरमा उत्तर प्रदेश सरकारले सुरक्षा व्यवस्था कडा पारिएको छ भने श्रद्धालुहरुको स्वास्थ्यलाई लिएर व्यापाक तयारी गरिएको छ। जल र वायु आपतकाल सेवालाई समेत महाकुम्भमा खटाइएको छ ।
जनवरी १३ बाट सुरू भएको महाकुम्भ मेलामा ६ वटा शाही स्नान हुनेछ, जसमध्ये चार पहिले नै भइसकेका छन् भने पाँचौ शाही अर्थात् महास्नान आज भएको हो । छैटौं तथा अन्तिम शाही स्नान फेब्रुअरी २६ मा हुनेछ ।
संगममा स्नान गर्न यो ६ साताको अवधिमा ४० करोडभन्दा बढी श्रद्धालु प्रयागराज पुग्ने अनुमान गरिए पनि हालसम्म ४६ देखि ४७ करोडले स्नान गरिसकेको उत्तर प्रदेशका डीजीपी प्रशान्त कुमारले बताउनुभएको छ ।
प्रयागराजमा तीन नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगम रहेको मानिन्छ ।
यो त्रिवेणी संगममा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता रही आएको छ । कुम्भ मेला हिन्दू संस्कृति, अध्यात्म र आस्थाको प्रतीक मानिन्छ भने हरेक १२ वर्षमा महाकुम्भको आयोजना हुने गर्दछ ।