पानामा क्यानलमाथिको चिनियाँ प्रभाव तत्काल रोक्न अमेरिकी विदेशमन्त्री रुबियोको माग

माघ २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
पानामा क्यानलमाथिको चिनियाँ प्रभाव तत्काल रोक्न अमेरिकी विदेशमन्त्री रुबियोको माग

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामालाई ‘क्यानल’ माथिको चिनियाँ प्रभाव तत्काल रोक्न माग गर्नुभएको छ । विदेशमन्त्री बने लगत्तै पहिलो यात्रामा पानामा पुग्नुभएका रुबियोले त्यहाँका राष्ट्रपति जोस राउल मुलिनोसँगको भेटवार्तापछि ‘क्यानल’ माथिको चिनियाँ प्रभाव र नियन्त्रण तुरुन्तै रोक्न माग गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उहाँले पानामाले आफ्नो माग पूरा नगरे दुई देशबीचको सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएको जनाइएको छ ।

पानामाका राष्ट्रपति मुलिनोले अमेरिकाले पानामा नहर कब्जा गर्ने कुनै खतरा नदेखिएको स्पष्ट पार्नुभएको छ । नहरबारे अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको चिन्तालाई सम्बोधन गर्न बैठकको प्रस्ताव गरेको मुलिनोको भनाइ छ । भ्रमणका क्रममा दुवै पक्षले आर्थिक, व्यापार र आप्रवासनका विषयमा छलफल गरेका थिए ।

अमेरिकी विदेशमन्त्री रुबियोले नहरको समेत भ्रमण गर्नुभएको छ । अमेरिकी विदेशमन्त्रीको भ्रमण विरुद्ध पनामाका बासिन्दाले प्रदर्शन समेत गरेका छन् ।

पानामा क्यानल विश्वकै दोस्रो व्यस्त जलमार्ग हो जसलाई २० औं शताब्दिमा अमेरिकाले निर्माण गरेर सन् १९९९ मा पानामालाई हस्तान्तरण गरेको थियो । अहिले सो जलमार्गलाई चीनले सञ्चालन गर्दै आइरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले भने पानामाको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने गरेको र पानामा क्यानल सञ्चालन गर्न कुनै भूमिका निर्वाह नगरेको जनाउँदै आएको छ ।