क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको करले अमेरिकी हितको रक्षा गर्ने राष्ट्रपति ट्रम्पको दाबी

माघ २१, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको करले अमेरिकी हितको रक्षा गर्ने राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि लगाइएको करले अमेरिकी हितको रक्षा गर्ने दाबी गर्नुभएको छ ।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सम्पूर्ण वस्तुमाथिको करले अमेरिकी नागरिकलाई आर्थिक पीडा हुने भए पनि मुलुकको हितको रक्षा हुने बताउनुभएको हो ।

साथै अमेरिकी व्यापारिक साझेदारहरुले अमेरिकी सरकारको व्यापार युद्ध लामो समय नटिक्ने संकेत गरेपछि ट्रम्पले यस्तो बताएको रोयटर्सले जनाएको छ । उहाँले अमेरिकालाई महान राष्ट्र बनाउन भन्सार शूल्कको कदमले मद्दत पुग्नेसमेत दाबी गर्नुभएको छ । ट्रम्पले दुई छिमेकी देश क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५–२५ प्रतिशत र आर्थिक शक्तिराष्ट्र चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत आयातकर लगाउने घोषणा गरेपछि विश्वस्तरमा नयाँ तरंग उत्पन्न भएको छ ।

यसैबीच, ह्वाइट हाउसले फेन्टानिल लागुऔषधको विषयलाई लक्षित गर्दै मेक्सिको सरकार आपराधिक संगठनसँगको साठगाँठमा रहेको आरोप लगाएको छ । आरोपको मेक्सिकोकी राष्ट्रपति क्लायडिया सेनबाउमले अस्वीकार गर्नुभएको छ । सेनबाउमले उक्त आरोप हस्तक्षेपकारी मनसायले लगाइएको भन्दै खण्डन गर्नुभएको छ ।

राष्ट्रपति सेनबाउमले अमेरिकाले लगाएको व्यापार शूल्कविरुद्ध आज आफ्नो मुलुकको योजना सार्वजनिक गर्ने बताउनुभएको छ ।

उहाँले व्यापार करले अमेरिकी अर्थतन्त्रमै असर पुग्ने चेतावनीसमेत दिनुभएको छ । यसअघि ट्रम्पको जवाफमा क्यानडाले अमेरिकाबाट आयात हुने १ सय ५५ अर्ब क्यानेडेली डलर बराबरको सामानमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरिसकेको छ । अमेरिकाको कदमविरुद्ध चीनले विश्व व्यापार संगठनमा मुद्दा दर्ता गर्ने भएको छ । यी तीनवटै मुलुक अमेरिकाका ठुला व्यापार साझेदार हुन् ।