मेक्सिको, क्यानडा र चीनमाथि अमेरिकाले लगाएको कर आजबाट कार्यान्वयनमा

माघ १९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
मेक्सिको, क्यानडा र चीनमाथि अमेरिकाले लगाएको कर आजबाट कार्यान्वयनमा

काठमाडौं । मेक्सिको, क्यानडा र चीनबाट अमेरिकामा आयात हुने सम्पूर्ण वस्तुमा आजदेखि कर लाग्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले यी तीन मुलुकमाथि कर लगाउन गरेको फैसला आजदेखि कार्यान्वयन हुने जानकारी ह्वाइट हाउसले दिएको हो ।

ह्वाइट हाउसका अनुसार अमेरिकाले छिमेकी मुलुक मेक्सिको र क्यानडाबाट आयात हुने सम्पूर्ण वस्तुमा २५ प्रतिशत र चीनबाट आयतित वस्तुमा १० प्रतिशत कर लगाउनेछ ।

क्यानडाबाट आयतित वस्तुमा २५ प्रतिशत कर लगाइएको छ । क्यानडाबाट अमेरिका भित्रने तेलमा समेत १० प्रतिशत कर लगाइएको ह्वाइट हाउसले जनाएको छ । तेलमाथि लगाइएको कर १८ फेब्रुअरीदेखि कार्यान्वय हुने बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभेटले मेक्सिको र क्यानडाले अवैधरूपमा लागूऔषध फेन्टानिललाई अमेरिकामा वितरण गरेका कारण दशौं लाख मानिसको ज्यान गइसकेको बताउनुभएको छ । सोही कारण छिमेकी मुलकमा कर लगाइएको उहाँको दाबी छ ।

ट्रम्पले मेक्सिको र क्यानडाले फेन्टानिल र अवैध आप्रवासीलाई अमेरिका प्रवेशमा अंकुश नलगाएसम्म करको सामना गर्नुपर्ने चेतावनी दिँदै आउनुभएको छ । यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूले अमेरिकाबाट यो आपेक्षा नगरेको भन्दै आफूले पनि अमेरिकी कदमको उचित जवाफ दिने स्पष्ट पार्नुभएको छ ।

यसैबीच ट्रम्पले भविष्यमा युरोपियन युनियनमाथि समेत कर लगाउने योजना बनाएको बताउनुभएको छ । युरोपियन युनियन गुटले अमेरिकासँग राम्रो व्यवहार नगरेको भन्दै ट्रम्पले भविष्यमा कर लगाउने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ ।