हमासले आज तीन इजरायली बन्धक रिहा गर्दै, इजरायलले पनि ९० प्यालेस्टिनी रिहा गर्ने

माघ १९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
हमासले आज तीन इजरायली बन्धक रिहा गर्दै, इजरायलले पनि ९० प्यालेस्टिनी रिहा गर्ने

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत आज चौथो पटक तीन इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । हमासले आज अमेरिका र इजरायलको दोहोरो नागरिक भएका ६५ वर्षीय केथ सिगल, ५४ वर्षीय ओफर काल्डेरोन, ३५ वर्षीय यार्डेन बिबासलाई रिहा गर्ने हमासका प्रवक्ता अवु ओबेदाले टेलिग्राम मार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले आज रिहा गर्ने सूची हिजै इजरायललाई बुझाएको र त्यसमा इजरायलले सहमति समेत जनाइसकेको छ । ती बन्धक परिवारलाई समेत जानकारी गराइएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि २५१ जनालाई बन्धक बनाई लगेको थियो । सोही समयमा यी तीन नागरिकलाई पनि हमासले बन्धक बनाएको थियो ।

यस्तै तीन इजराययली बन्धकको बदलामा इजरायलले ९० जना प्यालेस्टिनीलाई रिहा गर्ने बताइएको छ । जसमध्ये ९ जनाले आजीवन कारावास र ८१ जना लामो समयदेखि जेल सजाय भोगिरहेको बताइएको छ ।

यस्तै पहिलो चरणमा रिहा हुने भनिएका ३३ बन्धकमध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको पूर्वानुमान हमासले प्रदान गरेको सूचीबाट पुष्टि भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले पहिलो चरण अन्तर्गत तीन पटकमा पाँच थाई नागरिक सहित १५ जनालाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले ४०० कैदीबन्दीलाई छाडिसकेको छ ।

अमेरिका, इजिप्ट र कतारको मध्स्थतामा लामो प्रयासपछि दुवै पक्षले तीन चरणमा युद्धविराम अन्त्य गर्ने विषयमा सहमत भएका थिए ।

पहिलो चरणको युद्धविराम विभिन्न चरण गरी ४२ दिनसम्म चल्नेछ भने पहिलो चरण सहमति अनुसार कार्यान्वयन भए दोस्रो र तेस्रो चरणका लागि वार्ता हुनेछ । जसमा गाजामा पूर्ण युद्धविराम र पुनःनिर्माणका लागि सहमति जुटाइने बताइएको छ ।