काठमाडौं । बंगलादेशको मोहम्मद युनुस नेतृत्वको सरकारले भारतको कोलकाता र त्रिपुरामा रहेका आफ्ना दुई कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।
बंगलादेश इस्कोनका पूर्वप्रमुख चिन्मय प्रभुको गिरफ्तारीपछि डिसेम्बर २ मा त्रिपुराको अगरतलास्थित बंगलादेशी उच्चायोगमा तोडफोड हुनुका साथै कोलकातामा पनि उप-उच्चायोगको कार्यालय बाहिर विरोध प्रदर्शन भएको थियो । त्यसपछि बंगलादेशको अन्तरिम सरकारले आफ्ना दुई कूटनीतिज्ञलाई फिर्ता बोलाएको हो ।
कोलकातास्थित बंगलादेशका कार्यवाहक उपउच्चायुक्त मोहम्मद असरफुर रहमान भने ढाका पुगिसक्नुभएको छ । उहाँले बंगलादेश सरकारका विदेश सल्लाहकार तौहिद हुसेनसँग पनि भेट गरेर अगरतलामा भएको आक्रमण र पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको बताइएको छ । त्रिपुराका बंगलादेशी सहायक उच्चायुक्त आरिफ मोहम्मद भने ढाका पुग्नुभएको छैन ।
बंगलादेशको विदेश मन्त्रालयले डिसेम्बर २ मा अगरतलास्थित उच्चायोगमा भारतीय हिन्दूवादी संगठनका समर्थकले बंगलादेशी झण्डाको अपमान गरेको आरोप लगाएको छ । उनीहरुले उच्चायोगको परिसरमा आक्रमणसमेत गरेका थिए । त्यस घटनालगत्तै डिसेम्बर ३ मा बंगलादेशले उच्चायोग बन्द गरेको थियो ।
बंगलादेश सरकारले ती दुई कूटनीतिज्ञको कहिले भारत पठाउने भन्नेबारे केही बताएको छैन। अगरतला उच्चआयोग पुनः खोल्नेबारे पनि सरकारले कुनै जानकारी दिएको छैन ।
अर्कोतर्फ, अगरतला-कोलकाता घटनाको प्रतिक्रियामा बंगलादेशमा पनि प्रदर्शन भइरहेको छ।