काठमाडौं । न्यूजिल्याण्डको संसद्मा एउटा विधेयकमाथिको बहसका क्रममा स्थानीय परम्परागत नृत्यमार्फत् सांसदले गरेको विरोधले सम्पूर्ण विश्वको ध्यान खिचेको छ । न्यूजिल्याण्डकी युवा सांसद हाना रावहितीले विधेयकको प्रतिलिपी च्यात्दै विरोधस्वरुप नृत्य गर्न थाल्छिन् र अन्य सांसदहरुले पनि नृत्यमा साथ दिँदै विरोध गर्छन् । न्यूजिल्याण्डको संसद्ले माओरी समुदायसँग जोडिएको विधेयकलाई परिमार्जन गर्न खोजेपछि माओरी समुदायमा प्रचलित हाका नृत्यमार्फत् उनले विरोध गरेकी हुन् ।
न्यूजिल्याण्डको संसदमा पेश भएको विधेयक सन् १८४० मा बेलायत र माओरी समुदायबीच भएको वेताङ्गीको सन्धिमा आधारित छ । सन् १८४० मा ब्रिटिस क्राउन र आदिवासी माओरी अगुवाहरूबीच भएको सन्धिका आधारमा न्यूजील्याण्ड देश स्थापना भएको थियो । बिहीबार बसेको संसद बैठकमा त्यहाँका आदिवासी माओरी समुदायको अधिकार खुम्च्याउने गरी १ सय ८४ वर्ष पुरानो सन्धि पुनः व्याख्यासहितको विधेयक प्रस्तुत गरिएपछि सो समूदायका सांसदहरुले विरोध जनाएका हुन् । माओरी समुदायका सांसदहरुले संसदमा हंगामा नै गरे ।
विशेष गरी २२ वर्षीय युवा सांसद हाना रावहिती यो विरोधको अग्रपंक्तिमा थिइन् । उनले विधेयक च्यातेर माओरी हाका नृत्यमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरिन् । उनको सर्मथनमा अन्य सांसदहरुले नृत्यमार्फत विरोध जनाए । र, सदन अवरुद्ध गरे ।
हाका आदिवासी माओरी समुदायको ऐतिहासिक नृत्य हो । न्यूजील्याण्डको कुल जनसंख्याको २० प्रतिशत हिस्सा ओगटेको माओरी समूदायहरूले उक्त विधेयकको लामो समयदेखि विरोध गर्दै आएका थिए । बिहीबार बसेको बैठकमा सदनका सभामुख जेरी ब्राउनलीले उक्त विधेयक भोटिङका लागि प्रस्तुत गर्ने कार्यसूची थियो । ब्राउनलीले विधेयकको पहिलो खण्ड प्रस्तुत गरिसकेपछि संसद्मा विपक्षमा रहेको माओरी पार्टीका सांसदहरूलाई विधेयकको पक्षमा मतदान गर्नेबारे सोधेका थिए । त्यसपछि संसद् बैठक अशान्त बन्यो ।
न्यूजील्याण्डमा गएको १० दिनदेखि उक्त विधेयकको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । माओरी समुदायले भने आफूहरूमाथि हुँदै आएको अन्याय र अत्याचारको सम्बोधन हुने गरी कानून बनाउनुपर्ने माग गर्दै आएका छन् ।
माओरी सांसदहरूको विरोधका कारण बिहीबारको बैठक करिब आधा घण्टासम्म अवरुद्ध भएपनि ३० मिनेटको पुनः सुचारु भएको थियो । विवादकै बीच संसदले विधेयक पारित गरेको थियो । तर विधेयक पारित भएर पूर्ण कार्यान्वयनमा आउने वा नआउनेबारे भने अन्योल कायमै छ ।