इजरायलद्वारा लेबनानमा तैनाथ शान्ति सेनाको शिविरमा आक्रमण

कम्तीमा १५ सैनिक घाइते
अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै राष्ट्रसंघको आपत्ति
आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा लेबनानमा तैनाथ शान्ति सेनाको शिविरमा आक्रमण

काठमाडौं । इजरायली सेनाको दुई वटा ट्याङ्कले लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सेना-युनिफिलको एक शिवरमा आक्रमण गर्दा १५ जना सैनिक घाइते भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भिडियो सन्देश जारी गरी राष्ट्रसंघीय शान्ति सेनालाई फिर्ता लैजान आग्रह गरेको केही घण्टापछि इजरायली फौजले शान्ति सेनाको शिविरमा आक्रमण गरेको हो । मुख्य द्वार ट्याङ्कमार्फत ध्वस्त पारेर इजरायली सेना शिविरभित्र प्रवेश गरी ग्रेनेड प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ग्रेनेड प्रहारबाट १५ जना शान्ति सैनिक घाइते भएका छन् । घटनामा आफ्ना दुई सैनिक पनि घाइते भएको इजरायली सेनाको दाबी छ । युनिफिलका सैनिकलाई इजरायली सेनाबाट कुनै खतरा नरहेको पनि उसले स्पष्ट पारेको छ । तर सो घटनाप्रति राष्ट्रसंघले आपत्ति जनाएको छ ।

राष्ट्रसंघले शान्ति सेना वा उसको शिविरमाथि आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने चेतावनी दिएको छ । यसैबीच हिजबुल्लाहले उत्तरी इजरायलमा आक्रमण गर्दा चार इजरायली सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.