होन्डुरसमा बस दुर्घटना, १७ जनाको ज्यान गयो

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
होन्डुरसमा बस दुर्घटना, १७ जनाको ज्यान गयो

काठमाडौं । पश्चिम होन्डुरसमा दुई वटा बस एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । मृतक सबै होण्डुरसकै नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते १४ जनाको उपचार होण्डुरसको सान्ता रोजा दे कोपान सहरस्थित क्षेत्रीय अस्पतालमा भइरहेको छ । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएका दुईमध्ये एक सार्वजनिक बस आफ्नो नियमित रुट पूरा गर्ने क्रममा थियो भने अर्को निजी बस केही आप्रवासीलाई सीमातर्फ लैजाने क्रममा थियो । दुर्घटना एकल लेन रहेको हिमाली भेगको घुमाउरो बाटोमा भएको थियो । आधिकारिक तथ्यांकअनुसार होण्डुरसमा हत्यापछि सबैभन्दा धेरै मृत्यु हुने कारण सडक दुर्घटना हो । 

होण्डुरसकी राष्ट्रपति सियोमारा कास्ट्रोले मृतकका परिवारप्रति समवेदना प्रकट गरेकी छन् । उनले आवश्यक सहायताका लागि सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकेको पनि बताएकी छन् । दैनिक हजारौं आप्रवासी होण्डुरस हुँदै दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका पुग्ने आसमा उत्तरतर्फ लाग्ने गर्दछन् । गत वर्षको अक्टोबरमा पनि सोही स्थानमा भएको बस दुर्घटनामा परी चार आप्रवासीको मृत्यु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.