काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषदका सदस्य राष्ट्रहरुलाई गाजाको मानवीय संकट टार्ने पहल गर्न अपिल गरेका छन् । उनले गाजाको मानवीय अवस्था धरापमा रहेको चेतावनीसमेत दिएका छन्।
उत्तरी गाजा क्षेत्रमा आठ लाखभन्दा बढी सर्वसाधारण स्वास्थ सेवाबाट बञ्चित भएपछि राष्ट्रसंघका महासचिवले सुरक्षा परिषदका सदस्य राष्ट्रलाई मानवीय संकट टार्ने भूमिका खेल्न आह्वान गरेका हुन्।
इजरायलले जारी राखेको हमासविरुद्धको कारबाहीले सम्पूर्ण गाजा क्षेत्रमा मानवीय संकट झनै जटिल अवस्थामा पुग्ने गुटेरेसको चेतावनी छ । उनले अत्यावश्यक स्वास्थ्य र अन्य सामग्रीको कमी हुन नदिनु सबैको मानवीय कर्तव्य रहेको पनि बताएका छन्। हालको अवस्था जारी रहे गाजामा महामारीसमेत फैलिने र युद्धले लाखौँको संख्यामा सर्वसाधारण विस्थापित हुने जोखिम रहेको महासचिव गुटेरेसको भनाइ छ।
यसैबीच मानवीय संकट र महामारीलाई ध्यानमा राखेर इजरायलले केही मात्रामा अतिरिक्त पेट्रोलियम पदार्थ गाजा प्रवेश गर्न दिने भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर अशरफ अल कुद्राका अनुसार उत्तरी गाजा क्षेत्रमा हाल आठ लाखभन्दा बढी सर्वसाधारण स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। इजरायली सेनाले सम्पूर्ण स्वास्थ्य संरचनाहरु ध्वस्त पारेपछि अवस्था चिन्ताजनक भएको हो ।
अमेरिकी सिनेटमा इजरायलका लागि थप सुरक्षा सहयोग गर्न अघि सारिएको कानुन रिपब्लिकन सदस्यहरुले रोकिदिएका छन्। हमासले इजरायलमाथि गरेको अक्टोबर ७ को हमलापछि गाजामा संघर्ष जारी छ ।