बाकु । अजरबैजानले नागोर्नो काराबाखमा आक्रमण गरेको चौबीस घण्टापछि आर्मेनियाली जातीय लडाकु युद्धविराम गर्न सहमत भएका छन् ।
पूर्ण नि:शस्त्रीकरण गर्ने रुसी प्रस्तावमा लडाकुहरुले सहमति जनाएका हुन् । नागोर्नो काराबाखले अजरबैजानी भूभागको अन्तर्राष्ट्रिय मान्यता पाएको छ । त्यहाँ एक लाख २० हजार आर्मेनियाली मूलका मानिसहरु बसोबास गर्छन् । सोही स्थानमा अजरबैजानले आर्मेनियाली पृथकतावादी लडाकुविरुद्ध सैन्य कारबाही गरेको थियो ।
युद्धविराम प्रस्तावअनुसार काराबाखको सुरक्षा बलले पूर्ण रुपमा हतियार बिसाउने प्रतिबद्धता जनाएको छ । यसका साथै आर्मेनियाली सुरक्षा बल पनि त्यहाँबाट हट्नेछ ।
आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानले युद्धविराममा आफ्नो सरकार संलग्न नरहेको स्पष्ट पार्दै रुसी शान्ति टोली नै स्थानीय जनताको सुरक्षाका लागि जिम्मेवार रहने बताएका छन् । उनले काराबाखमा जातीय सफायाका लागि अजरबैजान जिम्मेवार रहेको आरोप लगाएका छन् ।
सोभियत संघको पतनपछि दक्षिण-पश्चिमी अजरबैजानस्थित नागोर्नो काराबाख क्षेत्रको नियन्त्रणलाई लिएर अजरबैजान र आर्मेनियाबीच धेरैपटक युद्ध भइसकेको छ । सन् २०२० मा भएको युद्धमा हजारौं मानिसको मृत्यु भएको थियो । तर, टर्कीको सहयोगमा अजरबैजानले उक्त क्षेत्र नियन्त्रणमा लिन सफल भएको थियो ।