लन्डन । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायत पुगेका छन् । बाइडेनले नेटोद्वारा किएभलाई गरिएको सहयोग, टर्कीले अवरोध गरेको स्वीडेनको सदस्यता प्रयासलगायत विषयमा भेटवार्ता गर्नेछन् ।
बाइडेनले आज बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेट गर्दैछन् । भेटवार्तामा जलवायुसम्बन्धी मुद्दामा पनि छलफल गर्ने जनाइएको छ । त्यसपछि उनी नेटो शिखर बैठकमा सहभागी हुन लिथुआनियाको राजधानी भिलिनियस प्रस्थान गर्नेछन् ।
बाइडेन नेटो गठबन्धनकै नयाँ सदस्य देश फिन्ल्याण्ड पनि जाने कार्यक्रम छ । बाइडेनले युक्रेन नेटो गठबन्धनमा सदस्यता लिन तयार नभएको पनि टिप्पणी गरेका छन् । तर उनले सदस्यताका लागि विवेकशील मार्ग खोजिने बताए । युद्धको बीचमा नेटो सदस्य राष्ट्रहरुबीच युक्रेनको सदस्यताबारे मतभेद छ ।
बाइडेनले वाशिङ्टनले इजरायललाई जस्तै किएभलाई पनि नेटोमा सामेल नभएसम्म सहयोग दिने वचन दिएका छन् । उनले स्वीडेनलाई समर्थन गर्न टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनलाई फोनमार्फत आग्रहसमेत गरेका छन् ।