युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पुटिनले युद्ध अपराध गरेको आरोप लगाउँदै आईसीसीले पक्राउ गर्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेन युद्धका क्रममा युद्ध अपराध भएको आईसीसीको आरोप छ । यसक्रममा गैरकानुनी रुपमा युक्रेनबाट बालबालिकालाई रुस पठाउने काम भएकोसमेत उल्लेख छ । सन् २०२२ फेब्रुअरी २४ देखि युक्रेनमा पुटिनले युद्ध अपराध गरेको आरोप लगाइएको छ ।

रुसले भने युक्रेनमा आक्रमणका क्रममा युद्ध अपराध नभएको दाबी गर्दै आएको छ । उसले युद्ध अपराधको आरोपलाई अस्वीकार गरेको छ ।

आईसीसीले जारी गरेको पक्राउ पुर्जीसम्बन्धमा रुसी विदेश मन्त्रालयले प्रतिक्रिया जनाउँदै यसको कुनै अर्थ नरहेको उल्लेख गरेको छ ।

विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले भनेकी छन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको फैसलाले हाम्रो देशको लागि कानुनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’