काठमाडौं । अहिले घरमै बसिबसी जुनसुकै सामान पनि अनलाइनबाट खरिद गर्न सकिन्छ । त्यसो भन्दैमा तपाईंले कतै अनलाइनमार्फत् औषधि खरिद त गरिराख्नु भएको छैन ? या तपाईंले अनलाइनबाट औषधी बिक्री गरिरहनुभएको छ ? यदि छ भने अनलाइनमार्फत् औषधी बिक्री वितरण गर्नु गैरकानुनी हो ।
औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन गरेर अनलाइनमार्फत् बिक्री वितरण हुने गरेको फेला पारेको छ । नक्कली औषधी बिक्री गर्ने वा दुरूपयोग गर्नेलाई जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ ।
औषधि व्यवस्था विभागमा केही दिन अघि अनलाइनबाट र केही औषधि पसलले अवैद्धरूपमा औषधी बिक्री वितरण भइरहेको सूचना आयो । विभागले त्यस्तो औषधि उत्पादन तथा प्याकिङ गर्ने स्थानको समेत सूचना पाएपछि मंगलबार काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ मा छापा मार्यो ।
त्यसक्रममा विभागले दुई वटा कोठामा हरमोनसम्बन्धी, मोटोपन घटाउने, मदिराको लत छुटाउने, थाइराइड, यौन क्षमता बढाउनेलगायतका विभिन्न प्रकारका नक्कली औषधि उत्पादन र बिक्री वितरण भइरहेको भेटायो ।
आयुर्वेदिक र अचुक औषधीका नाममा नक्कली औषधी बनाउने दुई जना पक्राउ पनि परेका छन् । अनधिकृत रूपमा उत्पादन गरी बिक्रीवितरण भइरहेका यस्ता औषधि नक्कली भएको विभागले जनाएको छ । यसरी उत्पादन भइरहेका औषधी केही पसल र अनलाइनमार्फत् बिक्री हुने गरेको छ ।
बिनादर्ता औषधी उत्पादन र बिक्री गर्ने समस्या ब्यापक छ । यसरी उत्पादित औषधिको गुणस्तर परीक्षणसमेत गरिएको हुँदैन । न त चिकित्सकले नै सिफारिस गर्छन् । तर उत्पादकहरूले अनलाइनमार्फत् प्रचारप्रसार गरी घरघरमा पुर्याइदिने गरेका छन् । विभागले यसबारेमा थप अनुसन्धान सुरू गरेको छ ।
नेपालमा अहिलेसम्म अनलाइनबाट कुनै पनि औषधि बिक्री वितरण गर्न पाइँदैन । कसैले गरेमा त्यो गैरकानुनी हो । विभागले अनलाइनमार्फत् औषधि बिक्रीवितरणका लागि कार्यविधि तथा मापदण्ड पनि बनाउने तयारी गरेको छ ।
औषधी ऐन २०३५ को दफा ३४ अनुसार औषधीको अनुचित प्रयोग वा दुरुपयोग गरेमा, औषधिमा मिसावट गरेमा वा अन्य वस्तुलाई औषधि भनी बिक्री गरेमा जरिवानादेखि जन्मकै सम्मको सजाय हुन्छ ।
अनलाइनमार्फत् औषधी बिक्रीवितरण गर्न नपाइने भए पनि भ्रामक प्रचार-प्रसार गरेर गर्ने गरिएको छ । तर यस्ता औषधिको प्रभावकारिता उपभोक्तालाई थाहा नै नहुँदा दीर्घकालीन असर पर्ने जानकार बताउँछन् ।
त्यसो त औषधि व्यवस्था विभागले जनशक्तिको अभाव देखाउँदै पर्याप्त अनुगमन गर्न सकेको छैन । दर्ता भएका ३० हजार फार्मेसीमध्ये बर्सेनी ३ देखि ४ हजारको मात्र अनुगमन हुन्छ ।
अवैधरूपमा औषधी बनाउनेहरूको कुनै लेखाजोखा हुने कुरै भएन । त्यही कारण भित्रभित्रै अवैधरूपमा औषधि उत्पादन र बिक्रीवितरण हुने गरेको हो । मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको औषधिमा हुने गरेको लापरबाही रोक्न सरकारले कठोर कदम चाल्नुको विकल्प छैन ।