कञ्चनपुरको कृष्णपुरमा घरदैलोमै पुगेर स्वास्थ्य सेवा, गत आर्थिक वर्षमा मात्रै ३२ हजारभन्दा बढी लाभान्वित

श्रावण ६, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरको कृष्णपुरमा घरदैलोमै पुगेर स्वास्थ्य सेवा, गत आर्थिक वर्षमा मात्रै ३२ हजारभन्दा बढी लाभान्वित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने 'नागरिकसँग मेयर' कार्यक्रम प्रभावकारी देखिएको छ। 

तीन वर्षदेखि सञ्चालनमा आएको यस कार्यक्रमअन्तर्गत नगरका ९ वटै वडामा स्वास्थ्यकर्मीको टोली खटाएर हजारौं नागरिकलाई घरमै उपचार र परामर्श दिइएको छ । आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३२ हजारभन्दा बढीले यो सेवा लिएको नगरपालिकाले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गजरौलाका ५८ वर्षीय वीरदेव भट्ट गतवर्ष दुर्घटनामा घाइते हुनुभयो। खुट्टा भाँचिएपछि रड राखिएको छ । अस्पताल जान नसक्ने उहाँलाई अहिले नगरपालिकाको स्वास्थ्य टोलीले घरमै चेकजाँच र परामर्श दिँदा हौसला मिलेको छ ।

त्यही वडाका वयोवृद्ध दम्पती मानबहादुर लुहार र हिरादेवी लुहार पनि घरमै स्वास्थ्य सेवा पाउँदा उत्साहित हुनुहुन्छ। लामो समयदेखि मधुमेह र रक्तचापबाट ग्रसित लुहार दम्पत्तीले आर्थिक अभाव तथा चेतना र सामथ्र्यको कमीले स्वास्थ्य चेकजाँच गराउनु भएको थिएन । तर नगरपालिकाको स्वास्थ्यकर्मी सहितको टोली घरमा पुगेर स्वास्थ्य जाँच र परामर्श दिँदा उहाँहरूले सहज महसुस गर्नुभयो ।

कृष्णपुर नगरपालिकाले तीन वर्षदेखि सञ्चालन गर्दै आएको 'नागरिकसाग मेयर' स्वास्थ्य कार्यक्रम हजारौँ स्थानीयवासीका लागि सहज र प्रभावकारी बनिरहेको छ। कार्यक्रमअन्तर्गत घरघरमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श सेवा दिइँदै आएको छ।

स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७९/८० मा १३ हजार, २०८०/८१ मा १५ हजार र आर्थिक वर्ष २०८१/८२ मा ३२ हजार ६ सय ५ जनाले आफ्नै घरमा स्वास्थ्य सेवा पाउनु भएको छ । 

कृष्णपुर नगरपालिकाले आगामी दिनमा घरदैलो स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने र सर्पदंश उपचार केन्द्र निर्माणमा पनि तीव्रता दिने जनाएको छ। नगरवासीले आश गरेको नगर अस्पतालको निर्माणमा भने ढिलाइ भएको छ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।