काठमाडौं । नेपालका अस्पतालहरूमा प्रयोग भइरहेका उपकरण कति छन् र कस्तो अवस्थामा छन् भन्ने सरकारलाई थाहै छैन । जबकि देशभर २२ संघीयसहित करिब १० हजार स्वास्थ्य संस्था छन् । उपकरणको यकिन तथ्यांक नभए पनि ती उपकरण बिग्रिएमा बनाउने जिम्मा सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । तर अस्पताल व्यवस्थापनको ध्यान भने मर्मतभन्दा पनि नयाँ खरिदमा जाने गरेको छ ।
यही चैत २ गते राति बाँकेको जयेन्दु बाल सुधार गृहमा भएको झडपमा घाइते भएका ३० भन्दा बढी युवा तथा किशोरलाई तत्काल भेरी अस्पताल पुर्याइयो । अधिकांश टाउकोमा चोट लागेका उनीहरूको तत्काल सीटी स्क्यान गर्नुपर्ने भयो । तर अस्पतालको सीटी स्क्यान ९ महिनादेखि बिग्रिएका कारण घाइते सबैलाई निजी अस्पताल लैजानुपर्यो ।
भेरी अस्पतालमा हरेक महिना सीटी स्क्यान गर्नुपर्ने अवस्थाका ३ सयदेखि ५ सयसम्म बिरामी पुग्छन्, तीमध्ये धेरैजसो जटिल अवस्थाका हुन्छन् । सीटी स्क्यान गर्न ढिला हुँदा ज्यानै जान सक्ने चिकित्सक बताउँछन् ।
अस्पतालले बिग्रिएको उपकरण मर्मत गर्न चाहिने १ करोड रुपैयाँ माग गर्न थालेको पनि ९ महिना भइसक्यो ।
“बिरामीहरूको जति चाडो डाइग्नोसिस गर्यो त्यति चाँडै इन्टरभेन्शन गर्न सकिन्छ, औषधि चलाउन सकिन्छ या अपरेशन गर्न सकिन्छ । हाम्रो अस्पतालमा सीटी स्क्यान नहुँदा, बिरामीलाई अर्को सेन्टरमा लगेर सीटी स्क्यान गरेर ल्याउँदासम्म र रिपोर्ट कुर्दासम्म बिरामीको महत्त्वपूर्ण समय खतम हुन्छ”, भेरी अस्पताल, नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।
प्रादेशिक अस्पताल कलैयाको एक्स-रे मेसिन पनि पुस महिनादेखि चलेको छैन । मेसिन मर्मतका लागि करिब ५ लाख रुपैयाँ लाग्ने भए पनि प्रदेशको स्वास्थ्य विभागले पैसा नपठाउँदा मर्मतमा ढिलाइ भएको अस्पतालले जनाएको छ । त्यति मात्र होइन दुई सातादेखि प्रादेशिक अस्पताल कलैयाको माइक्रोस्कोप मेशिन बिग्रँदा समेत दैनिक रूपमा ४० देखि ५० जना बिरामीलाई निजी संस्थामा पठाइने गरिएको छ ।
“हामीले हाकिम साहबलाई माग गरिसकेका छौं । उहाँलाई पनि केही समस्या होला । त्यही कारण लगभग दिनमा ३० देखि ५० जना बाहिर जानु परिरहेको अवस्था छ”, प्रादेशिक अस्पताल कलैयाका वरिष्ठ ल्याब टेक्निसियन पसिन्द जयसवालले बताउनुभयो ।
कतिपय अस्पतालले भने सामान्य मर्मतले चल्ने उपकरणका लागि समेत संघकै मुख ताक्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले गत भदौमा संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको थियो । भदौ यता वीर, शुक्रराज टेकु, भेरी, नारायणी अस्पताल तथा शहीद गंगालाल हृदय केन्द्रका गरी ५ सय उपकरण केन्द्रले मर्मत पनि गरिसकेको छ ।
संघीय सरकारले मात्र बर्सेनि उपकरण खरिदका लाग १ अर्ब खर्च गर्छ । त्यस बाहेक प्रदेश तथा स्थानीय र अस्पतालहरूले समेत छुट्टै खर्च गर्छन् । तर उपकरण मर्मतभन्दा पनि नयाँ खरिदमा अधिकांश अस्पतालले जोड दिनेका छन् । कतिसम्म भने उपकरणको अवस्था कस्तो छ, कति चलेका छन् या बिग्रिएका छन् भन्ने यकिन तथ्यांक नै सरकारसँग छैन ।
“उहाँहरूसँग एमओयू गर्दा पनि हाम्रा अस्पतालहरूमा थन्किएका औजार तथा उपकरणहरूलाई पहिले परीक्षण गर्नुस, स्क्रिनिङ गर्नुस कुन कामै नलाग्ने, कुन सानो तिनो मर्मतले हुन्छ, कुन थप सामान किनेर मर्मत गर्नुपर्ने हो, कुन तपाईंहरूको क्षमताले पनि भ्याउँदैन वर्गीकरण गर्दिनुस भनेर भनिसकोका छौं”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो, “अहिले हाम्रा संघीय अस्पतालका लगभग ५ सयभन्दा बढी औजार बनेर काममा आइसकेका छन् । केही सामान उहाँहरूले बाहिरबाट किन्नुपर्ने वा थप अलिकति बजेट चाहिने लिस्ट गर्दै हुनुहुन्छ ।”
देशभर २२ वटा संघीय अस्पताल सहित करिब १० हजार स्वास्थ्य संस्था छन् । यिनीहरूमा स्वास्थ्य उपकरणहरू कति र कुन अवस्थामा छन् सरकारसँग कुनै तथ्यांक छैन, न तिनीहरूको अवस्थाबारे अनुगमन नै हुन सकेको छ । आविष्कार केन्द्रलाई मर्मतको पूर्ण जिम्मा दिन पनि यो तथ्यांक सरकारसँग हुनु आवश्यक छ ।