कोशी प्रदेशमा बढ्यो डेंगी : ९ सय बढी संक्रमित, एकको मृत्यु

भाद्र ८, २०८१ |सुशीला पाठक
कोशी प्रदेशमा बढ्यो डेंगी : ९ सय बढी संक्रमित, एकको मृत्यु

बिराटनगर । कोशी प्रदेशमा डेंगी संक्रमणको जोखिम बढ्दो छ । हालसम्म कोशी प्रदेशमा एक जनाको डेंगीका कारण मृत्यु भएको छ भने नौ सय ७६ जना संक्रमित छन् । गत बर्षहरुमा डेंगी रोग प्रायजसो तराईका जिल्लामा मात्र देखिन्थ्यो भने अहिले हिमाली र पहाडी जिल्लामा पनि फैलिँदो छ ।

कोशी प्रदेशका अस्पतालहरुमा डेंगी संक्रमित र डेंगीसँग मिल्दाजुल्दा लक्षण देखिने बिरामीहरुको चाप बढेको छ । विराटनगरको कोशी अस्पतालमा साउन २८ देखि हालसम्म १० जना डेंगी संक्रमित बिरामी अस्पतालमा भर्ना भएका छन् । आँखा रातो हुने, टाउको दुख्ने, शरिर दुख्ने लगायतका लक्षण लिएर पुग्ने बिरामीको संख्या धेरै छ ।

डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको संक्रमणबाट बच्न घरवरिपरि सफा पानी जम्न नदिन चिकित्सकले सुझाएका छन् । 

कोशी प्रदेशमा बैशाखदेखि साउनसम्म तीन सय ८६ जनामा डेंगीको संक्रमण देखिएको छ भने साउनदेखि भदौ पहिलो सातासम्ममा पाँच सय ९० जनामा गरी नौ सय ७६ जनामा डेंगीको संक्रमण भएको पुष्टि भएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्लामा तीन सय ४४ जना, सुनसरीमा एक सय ९८ जना, झापामा एक सय ४४ जना, धनकुटामा एक सय १ जना, उदयपुरमा १३ जना, इलाममा १७ जना, भोजपुरमा ४६ जना, संखुवासभामा ३५ जना, ओखलढुंगामा ३६ जना, तेह्रथुममा दुईजना, खोटाङमा चारजना, सोलुखुम्बुमा ३२ जना डेंगी संक्रमित छन् । संखुवासभा र सोलुखुम्बु हिमाली जिल्ला हुन् ।

कोशी प्रदेशमा ताप्लेजुङ बाहेक बाँकी सबै जिल्लामा डेंगी संक्रमित भेटिएका छन् । कोशी प्रदेश सरकारले डेंगी नियन्त्रणका लागि स्थानीय सरकारसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम गरिरहेको, खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको जनाए पनि त्यत्ति प्रभावकारी बन्न सकेको छैन । लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement