काठमाडौं । बढ्दो डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना मात्र बनाएको छैन, स्थानीय तहसम्मै बजेट विनियोजनासमेत गर्दै आइरहेको छ । तर पनि डेंगी नियन्त्रणमा आउनुको सट्टा झन् झन् फैलिँदै गएको छ । नेपालमा सन् २०२४ को हालसम्म ३ हजार ७ सय ५५ जनामा डेंगी संक्रमण देखिएको छ । त्यसमध्ये पनि यो महिना अर्थात् अगस्टको १८ दिनभित्रै १ हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । डेंगी संक्रमणकै कारण यो वर्ष दुई जनाको मृत्युसमेत भइसकेको छ ।
डेंगी नियन्त्रण गर्न सरकारले गतवर्ष जस्तै यस वर्ष पनि डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना लागु गरेको छ । तर कार्ययोजना ठिक ढंगले कार्यान्वयन नहुँदा नियन्त्रण हुन सकेको छैन । यो वर्ष सबैभन्दा बढी गण्डकी प्रदेश १४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बागमती प्रदेशमा ९ सय २८, कोशीमा ६ सय ३९ र लुम्बिनीमा ३ सय २८ जना संक्रमण भेटिएको छ । सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ९५ पुग्दा मधेशमा ६५ र कर्णालीमा ५२ जना संक्रमित भएका छन् ।
यो वर्षको जनवरीदेखि अहिलेसम्म ३ हजार ७ सय ५५ जनामा डेंगीको संक्रमण देखिएको छ । यसमध्ये पछिल्लो डेढ महिनामा मात्र २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणकै कारण २ जनाको मृत्युसमेत भइसकेको छ । गतवर्ष कार्ययोजना हुँदा हुँदै पनि नेपालमा करिब ५० हजार जनामा डेंगी संक्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । तर सरकारले तिनै तहको भुमिका सहित कार्ययोजना लागु गरेपनि संक्रमण नियन्त्रण भने हुन सकेको छैन ।
विकसित राष्ट्रमा पनि डेंगी पूरै निर्मूल हुने अवस्था नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे बताउनु हुन्छ । ‘यो मल्टी सेक्टोरियल चिज हो । लामखुट्टे नियन्त्रण गर्न मात्र खोज्दा पनि यो नियन्त्रण हुन सकेन,’ उहाँले भन्नुभयो, ‘यो विकसित राष्ट्रमा पनि ठ्याक्कै निर्मूल हुने अवस्था छैन किनकि यो गाह्रो छ ।’
त्यसो त डेंगी संक्रमण नियन्त्रण गर्न संघीय सरकारले यस वर्षका लागि करिब १० करोड बजेट छुट्याएको छ । गतवर्ष डेंगीबाट बढी प्रभावित ४ सय २० स्थानीय तहलाई यस वर्ष सरकारले ७ करोड ९८ लाख दिएको छ । त्यस्तै ७७ वटै जिल्लालाई २ लाखको दरले विनियोजन गरिएको छ । त्यसबाहेक केन्द्रले आफैंले खर्च गर्ने गरी ३० लाख बजेट राखेको छ । संघबाहेक प्रदेश र स्थानीय तहले पनि बजेट छुट्याउने गरेका छन् । तर त्यस्तो धेरैजसो बजेट प्रचार-प्रचारमा मात्र खर्च हुन्छ । लामखुट्टे नियन्त्रण गरी संक्रमण रोकथाममा भने अपेक्षाअनुसार प्रगति भएको छैन ।
स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सुशील प्याकुरेलले सरकारका तीन तहबीच समन्वय नभएको बताउनु भयो । उहाँले भन्नुभयो- ‘स्थानीयले सकेनन् भने प्रदेश र त्यसले पनि सकेन भने संघले गर्ने हो । तर अहिले मुख्य समस्या के हो भने तीन तहबीच कोअर्डिनेसन पनि छैन, कोल्यावरेसन र कम्युनिकेसन पनि छैन, मुख्य कारण यो हो ।’
स्थानीय तहहरुले डेंगी संक्रमण फैलाउने लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउँदै आएका छन् । तर यो कार्यक्रम बढी प्रचारमुखी देखिएको छ ।