आधारभूत अस्पतालबाट नागरिकले कसरी सेवा पाइरहेका छन् ?

माघ ११, २०८० |सुन्दर शिल्पकार|चक्र भण्डारी |कमला पाख्रिन
आधारभूत अस्पतालबाट नागरिकले कसरी सेवा पाइरहेका छन् ?

काठमाडौं । हरेक स्थानीय तहमा कम्तिमा आधारभूत अस्पताल भएमा स्वास्थ्य सेवा पाउन पक्कै पनि केही सहज हुन्छ । घोषित योजनाअनुसार अहिलेसम्म २७ वटा अस्पतालको मात्र निर्माण सम्पन्न भएको छ । अब यसरी बनेका अस्पतालबाट नागरिकले कसरी सेवा पाइरहेका छन् त ?

भक्तपुरको सूर्यविनायक नगरपालिकामा २०७७ सालमा शिलान्यास भएको सूर्यविनायक नगर अस्पताल एक वर्षभित्रै निर्माण सम्पन्न भयो । स्थानीय सरकारले तदारुकता देखाए तोकिएको समयभन्दा अघि नै निर्माण गर्न सकिन्छ भन्ने उदाहरण यो अस्पताल बनेको छ । अस्पताल सञ्चालनमा आएसँगै स्वास्थ्य सेवा पाउन नगरवासीलाई सहज भएको छ ।

त्यसो त सिन्धुपाल्चोकको सुनकोशी, इन्द्रावती, भोटेकोशी र पाँचपोखरी गाउँपालिकाले पनि आधारभूत प्राथमिक अस्पताल निर्माण सकेर सञ्चालनमा ल्याइसकेका छन् । अस्पताल नहुँदा धुलिखेल वा काठमाडौं धाउनुपर्ने बाध्यता अहिले अन्त्य भएको सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकबाट आएका बिरामी कुरुवा गुरुध्वज खड्का बताउँछन् ।

उता दैलेखका चार स्थानीय तहमा पनि आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । यी अस्पतालमा प्रसूति, हाडजोर्नीलगायत सेवा मात्र होइन, फार्मेसीसमेत सञ्चालनमा छन् । यसले गाउँमै स्वास्थ्य सेवा पाउन सहज भएको छ ।

सरकारले आफ्नो घोषित नीतिअनुसार सबै स्थानीय तहमा आधारभूत अस्पताल बनाउन सके सामान्य उपचारका लागि नै टाढाटाढा धाउनुपर्ने बाध्यता अन्त्य हुन्छ भन्ने उदाहरण यी अस्पताल बनेका छन् । सबै स्थानीय तहले यसबाट किन नसिक्ने ?


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।

Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।

Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।