औषधि पसलहरूको अनुगमनमा किन बेखबरजस्तै बन्यो विभाग ?

मंसिर २०, २०८० |कान्तिपुर टीभी संवाददाता
औषधि पसलहरूको अनुगमनमा किन बेखबरजस्तै बन्यो विभाग ?

काठमाडौं । देशभर ३२ हजार औषधि पसल छन् । तिनको अनुगमन गर्ने दायित्व औषधि व्यवस्था विभागको हो । तर, अनुगमन तथा निरीक्षण गर्ने स्थायी जनशक्ति विभागमा ६ जनामात्रै हुँदा ती औषधि पसल कसरी चलिरहेका छन् भन्नेबारे विभाग बेखबरजस्तै हुने गरेको छ ।

सञ्चालन भइरहेका औषधि पसलमा अनधिकृत रूपमा औषधि बिक्री भइरहेको पाइएको छ । पछिल्लो पटक काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा क्रममा अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, दर्ता नै नभएका तथा सिफारिस विना नै औषधि बिक्री भइरहेको पाइएको छ ।

काठमाडौं महानगरमा झन्डै १८ सय औषधि पसल छन् । महानगरपालिकाले ६२ वटा पसलमा अनुगमन गरेकोमा अनधिकृत रूपमा सञ्चालन भएका ३ वटा बन्द गर्न निर्देशन दिएको छ ।

औषधि पसलको दर्ता गर्नेदेखि अनुगमनसमेतको जिम्मेवारी औषधि व्यवस्था विभागको हो । त्यसबाहेक स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले औषधिजन्य पदार्थको अनुगमन तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई पनि दिएको छ । तर जनशक्ति अभावका कारण पर्याप्त रूपमा अनुगमन गर्न नसकिएको विभागको भनाइ छ । 

विभागले वार्षिक रूपमा ३५ सय औषधि पसलको मात्र अनुगमन गर्ने गरेको छ । औषधि पसलबाहेक औषधि उद्योगको निरीक्षण गर्ने जिम्मेवारी पनि विभागको हो । 

औषधिको अनधिकृत रूपमा बिक्री गरेको पाइए औषधि ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.