काठमाडौं । नेपालमा बर्सेनि ६९ हजार क्षयरोगी थपिने अनुमान छ । तर, तीमध्ये करिब ३२ हजार उपचारको पहुँचमै आउने गरेका छैनन् ।
गत आर्थिक वर्ष नेपालमा ३७ हजार ८ सय ६१ जना मात्र उपचारको दायरामा आएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । ठूलो जनसंख्यालाई उपचारको दायरामा ल्याउन नसक्दा क्षयरोग चुनौतीका रुपमा देखिएको छ । नियमित औषधि सेवनले निको हुने भए पनि नेपालमा क्षयरोगकै कारण वार्षिक १७ हजारले ज्यान गुमाउने अनुमान छ । जबकि उपचारको दायरामा आएकामध्ये ९१ दशमलव ५ प्रतिशत निको भएका छन् ।
दुई साता वा त्यसभन्दा बढी खोकी लागेमा, साँझ ज्वरो आएमा, तौल घट्दै गएमा, खकारमा कहिलेकाहीँ रगत देखिएमा क्षयरोगको लक्ष्य हुनसक्ने चिकित्सक बताउँछन् । सरकारले क्षयरोगको उपचार नि:शुल्क गरेको छ ।
नेपालमा कडा खाले अर्थात् औषधी प्रतिरोधी क्षयरोग भने वार्षिक २८ सयको हाराहारीलाई हुने अनुमान छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको प्रकोप भएको ३० देशको सूचीमा राखेको छ ।