अस्पताल ढिला गरी पुग्ने प्रवृत्तिले कोभिड संक्रमण नियन्त्रणमा चुनौती

श्रावण १९, २०७९
अस्पताल ढिला गरी पुग्ने प्रवृत्तिले कोभिड संक्रमण नियन्त्रणमा चुनौती

नेपालमा कोभिडको चौथो लहर सुरु भएपछि संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिले संक्रमण दर २० प्रतिशतको हारारारीमा छ । अस्पताल भर्ना हुने दर बढेको छ । आइसीयुमा मात्रै कोभिडका ४४ जना संक्रमित उपचाररत छन् । संक्रमण बढिरहेको भए पनि ढिलो गरेर मात्र उपचारको दायरामा आउँदा नियन्त्रणमा चुनौती थपिएको छ ।

नेपालमा बिहीबार पीसीआर परीक्षण गराउनेमध्ये १९ दशमलव ०८ प्रतिशतमा संक्रमण देखिएको छ । साउन १ गते संक्रमण दर करिब ८ प्रतिशत मात्रै थियो । साउन १ गते सवैभन्दा बढी काठमाडौं उपत्यकामा ४३ जनामा संक्रमण देखिँदा १९ गते आइपुग्दा ३ सय ५१ जनामा संक्रमण पुष्टी भएको छ । त्यस्तै मोरङमा २७, कास्कीमा २३, सुनसरीमा १७, चितवनमा १२, झापामा १० जनामा संक्रमण देखिएको छ । यता संक्रमण बढेसँगै गम्भीर खालका बिरामी पनि थपिएका छन्। संक्रमण भएर जटिल अवस्थामा पुगेपछि मात्र परीक्षणको दायरामा आउने र अस्पताल ढिला गरी पुग्ने प्रवृत्तिले नियन्त्रणमा चुनौती थपिएको छ ।

कोभिडका सक्रिय संक्रमित बढ्दै गएको अवस्थामा आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या पनि बढ्दै जाने चिकित्सक बताउँछन् । सरकारले पनि त्यही अनुसारको तयारी गरेको दाबी गरेको छ । विगतको तुलनामा पर्याप्त स्रोत–साधन भएकाले उपचारमा समस्या नआउने सरकारको भनाइ छ ।

सरकारले उपचारका लागि स्रोत साधनको कमी नभएको दाबी गरिरहँदा पनि मृत्यु हुने क्रम रोकिएको छैन । अझ पछिल्ला दिनमा त दैनिक एक वा दुई जनाको मृत्यु नै भइरहेको छ । सक्रिय संक्रमितको संख्या ५६ सय कटेको छ । त्यही भएर स्रोत साधन छ भनेर बस्नेभन्दा पनि त्यसको सदुपयोग गरी संक्रमण नियन्त्रणमै केन्द्रीत हुनु आवश्यक छ ।


Enter Kantipur TV HD
Advertisement