‘मौलिक कथामा ध्यान दिए नेपाली चलचित्रले फड्को मार्ने’

नेपाली चलचित्र : हिट कम फ्लप धेरै
वैशाख १, २०८१ |प्रकाश बम
‘मौलिक कथामा ध्यान दिए नेपाली चलचित्रले फड्को मार्ने’

काठमाडौं । वर्ष २०८० मा ५२ वटा चलचित्र प्रदर्शन भए । प्रविधिका हिसाबले ती निकै अब्बल थिए । केही कलात्मक चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रशंसा कमाए । हलिउडले प्रयोग गरेकै प्रविधि नेपाली चलचित्रले पनि प्रयोग गरिरहेका छन् । तर प्रदर्शनमा आएकामध्ये कतिपय त एक साता पनि हलमा टिकेनन् । पटकथामा सुधार, चलचित्र ऐनमा समसामयिक सुधार, अन्तर्राष्ट्रियकरण तथा मौलिक कथामा ध्यान दिए नयाँ वर्षमा चलचित्र क्षेत्रले थप फड्को मार्ने ठाउँ प्रशस्त छन् ।

चलचित्र निर्माण हुन थालेको ६ दशक भइसक्दा पनि एउटा पनि फिल्म सिटी छैन । पटक-पटक सरकारले प्रतिबद्धता जनाए पनि कार्यान्वयन अघि बढेको छैन । फिल्म सिटी निर्माण गर्ने हो भने चलचित्रकर्मीको खर्च र समय बचत हुनेछ । यसबाहेक अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका एक-एक कुना कुनै फिल्म सिटीभन्दा कम छैन । यस्तो भूगोलमा फिल्म निर्माण गर्न हलिउड, बलिउडजस्ता ठूला उद्योगका फिल्मकर्मीलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ, जसले नेपालको पर्यटनलाई समेत सघाउने निर्देशक प्रदीप भट्टराईको बुझाइ छ ।

बीसको दशकबाट निकै सानो बजार र सेलुलाइड क्यामेरामार्फत नेगेटिभमा खिचिने प्रविधिबाट अघि बढेको नेपाली चलचित्र उद्योग अहिले डिजिटल युगसम्म आइपुग्दा निकै विकसित भइसकेको छ । डिजिटल प्रविधिले चलचित्रको स्तर बढाइदिएको त छ नै, निर्माण प्रक्रिया पनि सहज भएको छ । अहिले हलिउडले प्रयोग गरेको प्रविधि नेपाली चलचित्रले पनि प्रयोग गरिरहेको वितरक गोविन्द शाही बताउँछन् ।

अहिले चलचित्र निर्माण, छायांकनदेखि प्रदर्शनसम्मै डिजिटल प्रविधिको प्रयोग हुन्छ । यसले चलचित्रको संख्या पनि बढाएको छ । तर, कथा तथा पटकथा कमजोर हुँदा फिल्म चलेका छैनन् । निर्माणका अन्य पक्षलाई जस्तै यो पक्षको पनि सुधारका उपाय पनि खोजी गरिनुपर्ने निर्माता अशोक शर्माको भनाइ छ ।

चलचित्र क्षेत्रमा बर्सेनि दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइरहेको छ, अर्थतन्त्रमा समेत यसको ठूलो योगदान छ । तर सरकारले अझै उद्योगको मान्यता दिएको छैन । चलचित्र ऐन २०२६ कै भरमा चलिरहेको छ । २०७१ सालमा बनेको राष्ट्रिय चलचित्र नीतिले डिजिटल चलचित्रका थुप्रै पक्षलाई नसमेटेकाले यो अपुरोजस्तै छ । अब नयाँ वर्षमा सरकार र चलचित्र क्षेत्रले संयुक्तमा रुपमै यसका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

चलचित्र राम्रो बने पनि हेर्न हलमै पुग्नुपर्छ भन्ने बाध्यता आजकाल दर्शकलाई छैन । युट्युब, एप, ओटीटी अर्थात् इन्टरनेटजस्ता प्रविधि विकल्प छन् । अब यिनै प्लेटर्फममा चलचित्र रिलिज गर्ने चलन सुरु भइसकेको छ । अबको आवश्यकता भनेको यिनै पछिल्ला प्रविधिलाई अझ प्रभावकारी बनाउने हो, जसका लागि सरकारले पनि नीति नियम सहज बनाउनुपर्ने निर्देशक निश्चल बस्नेतको सुझाव छ ।

अब नेपाली चलचित्रलाई बहुभाषामा समेत निर्माण गर्दै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने देखिन्छ । केही चलचित्रमा त्यस्ता अभ्याससमेत भएका छन् । प्रेमगीत ३ को निर्माण टिमले चलचित्रको प्रचार नेपालमा मात्र गरेन, हिन्दी भाषामा समेत निर्माण र प्रमोसन गर्‍यो । नेपाली जनजीवनका कथा, पटकथा र प्रस्तुतिमा मिहिनेत, आधुनिक प्रविधि तथा प्रोसेसिङमा लगानी गर्ने हो भने नेपाली चलचित्रले दर्शक सजिलै तान्न सक्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement