काठमाडौं । स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि २५ वटा दल दर्ता भए पनि ५ राजनीतिक दल निर्वाचनमा सहभागी भएका छैनन् ।
निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको आहृवान गरे अनुसार २५ दल दर्ता भएका थिए । तीमध्ये २० दलले विभिन्न पदका लागि हुन लागेको निर्वाचनमा सहभागी हुँदैछन् ।
निर्वाचन आयोगमा दर्ता भएकामध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली कांग्रेस (बिपी), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ राजनीतिक दलले उम्मेदवारी नदिएका हुन् ।
निर्वाचन आयोगमा १ सय २५ भन्दा बढी दल दर्ता छन् । तीमध्ये यसपटक उपनिर्वाचनका लागि २६ दलले निवेदन दिएका थिए । त्यसमध्ये २५ दल योग्य ठहरिए पनि ५ दल उपनिर्वाचनमा सहभागी भएनन् ।