काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताउनुभयो ।
उम्मेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “केही उम्मेदवारहरूविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरूलाई स्पष्टीकरणसमेत सोधेका छौँ । केहीले स्पष्टीकरण पठाउनुभएको छ । र केही आउने क्रममा छन् । स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौं । निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सञ्चारमाध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिन आग्रह गर्न चाहन्छु । तोकिएको मिति र समयमै निर्वाचन हुन्छ ।”
अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जारी छ । हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ । जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।