काठमाडौं । इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचन अन्तर्गत हिजो भएको मतदानको मतगणना आज हुने भएको छ । इलाम-२ का सबै केन्द्रका मतपेटीका संकलन भइसकेका छन् । अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ । बझाङमा भने आज दिउँसोसम्ममा सबै मतपेटिका संकलन गरेपछिमात्र गणनाको तयारी गरिने छ । इलाममा ६० र बझाङमा ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो अपेक्षितभन्दा कम मतदान हो ।
दुवै निर्वाचन क्षेत्रमा हिजो बिहान सात बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम-२ मा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
मतगणना सुरू भएको १२ घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे । इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
५० प्रतिशत मत खसेको बझाङ प्रदेशसभा-१ को मतगणना आज दिउँसोबाट मात्र हुने भएको छ । आज दिउँसोसम्ममा मतपेटिका संकलन गरिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बझाङको सैपाल गाउँपालिकाका तीनवटा केन्द्र बाहेक अरू सबै मतदान केन्द्रको मतपेटिका हिजो रातिसम्ममा सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । सैपालका तीनवटा केन्द्रको मतपेटिका भने आज बिहान हेलिकोप्टरबाट ढुवानी गर्ने निर्वाचन कार्यालयले जनाएको छ। सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ।