आन्दोलनरत शिक्षक र सरकारका आ-आफ्नै अडान, कक्षा-१२ को परीक्षा बिथोलिने अवस्था

वैशाख ८, २०८२ |नारायण किलम्बू
आन्दोलनरत शिक्षक र सरकारका आ-आफ्नै अडान, कक्षा-१२ को परीक्षा बिथोलिने अवस्था

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको अनिश्चितकालीन शैक्षिक हडतालका कारण कक्षा १२ को परीक्षा नै बिथोलिने भएको छ । परीक्षाको तयारी नै प्रभावित भएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने तयारी गरेको छ । शिक्षक र सरकार आ-आफ्नो अडानबाट पछि नहट्दाको परीक्षाको अन्तिम तयारीमा रहेका साढे ५ लाखभन्दा बढी विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको छ ।

उच्चशिक्षाको नयाँ ढोका खोल्ने खुड्किलोको रुपमा रहेको कक्षा १२ को परीक्षाका लागि साढे ५ लाखभन्दा बढी विद्यार्थीहरु अन्तिम तयारीमा थिए । तर, शिक्षकहरुको हड्तालका कारण उनीहरुले आफ्नो तयारीलाई उपयोग गर्न नपाउने स्थिति देखिएको छ, यसले उनीहरुमा निराशा छाएको छ । थाहा छैन-अब तय हुने तालिकामा फेरि तयारी गर्ने मानसिकतामा उनीहरु हुन्छन् कि हुँदैन । परीक्षा प्रभावित भएपछि समग्र उच्चशिक्षाको शैक्षिक क्यालेण्डरमै असर पर्नेछ भने विदेशमा उच्चशिक्षा अध्ययनको सपनासमेत लथालिंग हुने जोखिम बढाएको छ ।

अनिश्चितकालीन शैक्षिक हडतालले देशभरका २९ हजार सामुदायिक विद्यालय ठप्प छन् । शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलनका कारण वैशाख २ गतेदेखि शुरु हुनुपर्ने नयाँ भर्ना अभियान सञ्चालन नै हुन सकेको छैन । तर, विद्यार्थीको भविष्यप्रति आन्दोलनरत पक्ष शिक्षकहरु र सरकार त यसै पनि गम्भीर भएनन् नै प्रमुख राजनीतिक दलहरु पनि चुपचाप जस्तै छन् । शिक्षक महासंघ पेशागत हकहितसहितको शिक्षा ऐन आउने सुनिश्चितता नभएसम्म सडक आन्दोलनबाट पछि नहट्ने रटानमै छ ।

विद्यालय शिक्षाप्रति अभिभावक र विद्यार्थीको विश्वास गुम्दै गएका बेला अनिश्चितकालीन शैक्षिक हड्तालले सामुदायिक शिक्षा झन् धरासायी हुने अवस्थामा पुगेको छ । शिक्षक र सरकार दुवै आ-आफ्नो अडानमा रहँदा पठनपाठन र परीक्षा नै लथालिंग भइरहेको स्थितिमा विद्यार्थीमा परेको मनोवैज्ञानिक असरको जिम्मेवारी कसले लिने ?


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।