सरकार र शिक्षकबीच जारी छलफल अझै निचोडमा पुगेन, १२ दिनदेखिको आन्दोलन जारी

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकार र शिक्षकबीच जारी छलफल अझै निचोडमा पुगेन, १२ दिनदेखिको आन्दोलन जारी

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक-कर्मचारीले आज १२ औं दिन पनि काठमाडौंकेन्द्रित आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले सरकारसँगको छलफल र आन्दोलनलाई सँगैसँगै अघि बढाएका छन् ।

आन्दोलनरत शिक्षक-कर्मचारीले वार्ताको वातावरण बनाउन अघि सारिएका मागका विषयमा शिक्षामन्त्री सहित उच्च अधिकारीहरूसँग चार दिनदेखि संवाद गर्दै आएका छन् । अस्थायी, करार, बालविकास केन्द्र लगायत विभिन्न शिक्षकको स्थायित्व, तलबमान र ग्रेडवृद्धि, तलब समायोजन, सामाजिक सुरक्षा कोष लगायत पेशागत हकहितका विषयमा सकारात्मक रूपमा छलफल भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले पूरा गर्न सक्ने केही मागका विषयमा सहमति नजिक पुगेको र अन्य विषय पनि कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे छलफल भइरहेको जनाइएको छ ।

आन्दोलनरत शिक्षकहरुले भने यसअघि सरकारसँग भएको सम्झौताअनुसार नै शिक्षक कर्मचारीको पेशागत हकहित र वृत्तिविकासका मागहरु मन्त्रिपरिषद्ले सम्बोधन गरेपछि औपचारिक वार्तामा बस्ने सर्त अघि सारेका छन् । माग पूरा नभएसम्म आन्दोलन र शैक्षिक हडतालबाट पछि नहट्ने उनीहरूको अडान छ ।

आन्दोलन जारी रहेकै बेला संसद्‌को शिक्षा उपसमितिले पनि विद्यालय शिक्षा विधेयकमाथिको छलफल तीव्र पारेको छ । शिक्षकहरूको प्रदर्शनका कारण केही दिनदेखि बानेश्वरदेखि माइतीघरसम्मको यातायात प्रभावित हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.