भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संवैधानिक जटिलताका कारण लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक पारित हुन नसकेको बताउनुभएको छ ।
मन्त्री भट्टराईले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनीयरिङ कलेज लगायत शैक्षिक संस्थाहरूको निरीक्षण गर्दै संविधानको व्याख्या अनुसार विश्वविद्यालय चलाउने अधिकार केन्द्र र प्रदेशलाई मात्र भएको र स्थानीय तहलाई माध्यमिक तहसम्मको अध्ययन गराउने अधिकार भएकाले ख्वप विश्वविद्यालय अहिलेसम्म पारित हुन नसेकेको बताउनुभएको हो ।
मन्त्रिपरिषद्मा विचाराधीन ख्वप विश्वविद्यालय विधेयकमा संवैधानिक जतिलताको विषयमा थप छलफल आवश्यक रहेको बताउँदै उहाँले प्रतिनिधि सभा सदस्य प्रेम सुवाल र नगरप्रमुख सुनिल प्रजापतिलाई छलफलका लागि मन्त्रालय आउन निमन्त्रणा समेत गर्नुभयो । मन्त्रिपरिषद्मा पुगेको विधेयकको विषयमा केन्द्र, प्रदेश र स्थानीय तहको सहअस्तित्वमा रहने गरी पारित गर्ने विषयमा भने कुनै विमति नरहेको समेत बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य सुवालले संविधानमा शिक्षा सबैको साझा अधिकारको विषय रहेकाले स्थानीय तहले पनि विश्वविद्यालय चलाउन पाउनु पर्ने बताउनुभयो । सकेसम्म चाँडै ख्वप विश्वविद्यालय विधेयक पारित गरिनुपर्ने बताउँदै उहाँले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाले ४१ हजार ७९८ विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न बाटो खोलिदिएकाले चाँडै विधेयक पारित गरेर ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याई अध्ययन अनसन्धानको ढोका खोलिदिन मन्त्री समक्ष आग्रह गर्नुभयो ।
नगरप्रमुख प्रजापतिले सस्तो सुलभ र गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण ७७ जिल्लाका विद्यार्थीहरू नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनीयरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा हाल देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री भट्टराईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्बाट चाँडै पारित गर्न मन्त्री भट्टराईलाई ज्ञापनपत्र समेत बुझाउनुभयो । नगरपालिकाले २०६४ सालदेखि ख्वप विश्वविद्यालयको माग गर्दै आएको छ ।