काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गरेरै छाड्ने दाबी गर्नु भएको छ । कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा आज आफ्ना उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई राजनीति गर्न रोक लगाउनेदेखि विश्वविद्यालयमा प्रतिस्पर्धा आधारमा पदाधिकारी नियुक्त गर्नेसम्मका पहल गरेको उल्लेख गर्नुभयो । तर, मन्त्रालयमा दक्ष जनशक्ति अभाव रहेको उहाँको गुनासो छ । शिक्षामन्त्री श्रेष्ठले आफ्नो सय दिनमा के-के गर्नुभयो त ?
२०८० फागुन २३ गते शिक्षामन्त्री नियुक्त हुनु भएकी सुमना श्रेष्ठले आफ्नो सय दिनको समीक्षा गर्दै गत आइतबार कान्तिपुरमा लेख्नुभयो-कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वसँग प्रतिरोध गर्ने तरिका गलाउन खोज्ने रहेछ । उहाँले अगाडि लेख्नु भएको छ-'मन्त्रीको निर्देशन खोज्ने तर निर्णयमा भाषा मिलाउन भनेर झुलाउने वा आफूअनुकूल परिवर्तन गर्ने चलन रहेछ ।...सुझाव मन नपराउने र जवाफदेही हुने आग्रहलाई कति दिन टिक्छ र भनेर टारिदिने प्रवृत्ति रहेछ ।’
मन्त्रालयमा मंगलबार सय दिनका उपलब्धी सार्वजनिक गर्न आयोजित कार्यक्रममा भने मन्त्री श्रेष्ठले यो विषयमा थप बोल्न चाहनु भएन । यतिमात्र होइन, मन्त्री श्रेष्ठले आफ्नो सय दिनको अवधिमा बजेट खर्च र प्रभावकारी कार्यान्वयन हुन नसक्नुमा राजनीतिक अस्थिरता, कर्मचारीको ठप्प वृत्ति विकास र दक्ष जनशक्ति अभाव प्रमुख कारण औंल्याउनु भएको छ ।
कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्न पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा एकदेखि तीन महिने अवधिका छोटा कोर्स सञ्चालन गर्न लागेको पनि मन्त्री श्रेष्ठको भनाइ छ ।
तर, यो अवधिमा ६ वर्षदेखि गुपचुप राखिएको चिकित्सा शिक्षा जाँचबुझ आयोग र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन सफल भएको उहाँले बताउनु भयो । साथै, शिक्षकले राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्न शिक्षक सरुवा निर्देशिका कार्यान्वयन र प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
तर, शिक्षक सरुवा निर्देशिकाको भने शिक्षक संघ संगठन तथा देशभरका स्थानीय तहहरुले विरोध गरेका छन् । उनीहरुले निर्देशिकाबाट अधिकार कटौती भएको भन्दै खारेज गर्न माग गरिरहेका छन् । अहिलेसम्म राजनीतिको प्राथमिकतामा नपर्दा शिक्षा क्षेत्रमा उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सबैको सहयोग र जिम्मेवार भए नेपालको शिक्षा क्षेत्रको रुपान्तरण सम्भव भएको बताउनु भएको छ ।
यो पनि...
शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्छु : शिक्षामन्त्री श्रेष्ठ