यी हुन् भावी उपकुलपतिका ६ चुनौती

माघ २६, २०८० |नारायण किलम्बू
यी हुन् भावी उपकुलपतिका ६ चुनौती

काठमाडौं । बेथितिले ग्रस्त त्रिभुवन विश्वविद्यालयको सुधार र राजनीतिक हस्तक्षेप अन्त्यका लागि सरकारले अगाडि बढाएको उपकुलपति नियुक्ति प्रक्रियाअनुसार १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भनेजस्तै उपकुलपति नियुक्ति निष्पक्ष त होला । तर, के त्यसले मात्र त्रिविको चुनौती अन्त्य होला ? के छन् त्रिविका चुनौती, जसलाई नयाँ उपकुलपतिले समाधान गर्नुपर्नेछ ?

राजनीतिक हस्तक्षेपले जर्जर बनिसकेको त्रिभुवन विश्वविद्यालयसामु यस्ता कैयौं चुनौती छन्, जसलाई नयाँ उपकुलपतिले समाधान गर्नुपर्नेछ ।

चुनौती नम्बर १

त्रिविका लागि प्रमुख चुनौती नै चरम राजनीतिक हस्तक्षेप हो । उपकुलपतिदेखि सहायक क्याम्पस प्रमुखसम्मको नियुक्तिमा हुँदै आएको हस्तक्षेप र भागबन्डाले विश्वविद्यालयको अवस्था जर्जर भइसकेको छ । दलहरुले विद्यार्थी तथा शिक्षकलाई आफ्ना कार्यकर्ताका रुपमा प्रयोग गर्ने तथा नियुक्ति, सरुवा-बढुवा र सुविधाका लागि चर्को दबाब दिने प्रवृत्ति छ । यसलाई रोक्ने चुनौती अब नियुक्त हुने नेतृत्वलाई छ ।

चुनौती नम्बर २

शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न नसक्नु त्रिविका लागि अर्को प्रमुख चुनौती हो । समयमै भर्ना र पठनपाठन नहुनु, परीक्षा दिएको डेढ वर्षसम्म नतिजा निकाल्न नसक्नु त्रिविका लागि सामान्यजस्तै बनिसकेको छ । यसको मारमा विद्यार्थी पर्न थालेको दशकौं भइसक्यो ।

चुनौती नम्बर ३

त्रिविमा दशकौंअघि तयार पारिएका पाठ्यक्रम समयसापेक्ष रुपमा परिमार्जन हुन सकेका छैनन् । जसले गर्दा विद्यार्थी समयानुकूल नयाँ नयाँ ज्ञान, सीप आर्जन गर्नबाट वञ्चित भइरहेका छन् ।

चुनौती नम्बर ४

त्रिविमा चारवटा अनुसन्धान निकायहरु सेडा, सेरिड, सिनास र रिकास्ट भए पनि जागिर खुवाउने थलो मात्र बनेका छन्, तिनका देखिने उपलब्धि कतै देखिँदैन । यी निकायलाई प्रभावकारी बनाउँदै त्रिविको शैक्षिक उन्नयनका लागि उपयोग गर्नुपर्नेछ ।

चुनौती नम्बर ५

एक समय त्रिविलाई विश्वस्तरीय प्राज्ञिक संस्थाका रुपमा लिइन्थ्यो । तर, चरम राजनीतीकरण, भनसुनका आधारमा नियुक्तिजस्ता विसंगतिले त्रिविको शैक्षिक स्तर खस्किएको छ । यसलाई सुधार गर्नु पनि अर्को चुनौती हो ।

चुनौती नम्बर ६

त्रिविमा बजेट अभावले शिक्षक तथा कर्मचारीलाई तलब तथा पेन्सनसमेत खुवाउन मुस्किल हुने अवस्था छ । यसको असर विश्वविद्यालयअन्तर्गतका आंगीक क्याम्पसको भौतिक पूर्वाधारमा पनि परेको छ । भूकम्पले क्षति गरेका संरचना पुनर्निमाण हुनै सकेको छैन ।

के अब आउने नेतृत्वले यी चुनौतीको सामना गर्दै विश्वविद्यालयलाई सुधार गर्न सक्ला त ?


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।