शिक्षा विधेयक पारित नहुँदा यस वर्ष पनि केन्द्रिकृत रुपमै एसईई हुने

परीक्षा बोर्डद्वारा कार्यतालिका सार्वजनिक
प्रश्नपत्र निर्माण प्रक्रिया सुरु
मंसिर ३, २०८० |नारायण किलम्बू
शिक्षा विधेयक पारित नहुँदा यस वर्ष पनि केन्द्रिकृत रुपमै एसईई हुने

काठमाडौं । संसद्‌मा पेस भएको शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिए पनि राष्ट्रिय परीक्षा बोर्डले भने यथावत् रुपमै एसईई सञ्चालन गर्ने तयारी गरेको छ ।

विधेयक पारित भई नसकेकाले बोर्डले २०८० सालमा सञ्चालन हुने परीक्षाका लागि प्रक्रिया अगाडि बढाएको हो । चैतको दोस्रो सातादेखि हुने एसईईका लागि आन्तरिक तयारी थालेको बोर्डले विद्यार्थीलाई आवेदन फाराम भर्नसमेत आग्रह गरेको छ ।

दश वर्ष विद्यालय शिक्षामा अध्ययन गरेका विद्यार्थीको योग्यता परीक्षण गर्ने परीक्षा कक्षा १० को एसईई नै हो । २०८० सालको चैत दोस्रो सातादेखि एसईई सञ्चालनका लागि शैक्षिक कार्यतालिका नै सार्वजनिक गरी परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीहरुको आवेदन फाराम भराउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

एसईई नै नरहने गरी सरकारले शिक्षा विधेयक संसद्‌मा पेस गरेको तर सो विधेयक पारित भइनसकेकाले विद्यार्थी र अभिभावकमा अन्योल नहोस् भनेर बोर्डले परीक्षाका लागि आवेदन फाराम भर्न लगाएको हो । बोर्डले प्रश्नपत्र निर्माणका लागि आन्तरिक प्रक्रिया थालिसकेको छ भने उत्तरपुस्तिका छपाइ जिल्ला पठाउने कामका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यस वर्षका लागि मात्रै होइन परीक्षा नियन्त्रण कार्यालयले त २०८१ को एसईईमा समावेश हुन विद्यार्थीको रजिस्ट्रेसन फाराम भराउनसमेत निर्देशन दिइसकेको छ । एसईईमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य अर्थात् परीक्षा नियन्त्रण कार्यालयमार्फत लिइने परीक्षाबाट अंक दिने व्यवस्था रहेको छ ।

त्यसो त जुनसुकै ग्रेड आए पनि माथिल्लो तहमा अध्ययन गर्न पाउने व्यवस्थाले विद्यार्थी र शिक्षक दुवैमा कम मिहिनेत गर्ने बानीको विकास भएको र यसले विद्यालय शिक्षाको गुणस्तर नै खस्किन थालेको अनुभव नगरिएको होइन। अझ कोभिडका बेला एसईईको मूल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिँदा शिक्षकहरुले मनपरि रुपमा धेरै नम्बर दिएका गुनासा पनि नसुनिएका होइनन् । एसईई नै नहुँदा विद्यार्थीको योग्यताको सही मापन नहुने भएकाले कुनै न कुनै रुपमा बाह्य मूल्यांकन आवश्यक रहेको शिक्षक/अभिभावकको बुझाइ छ ।

शिक्षाविद् प्राडा प्रकाशमान श्रेष्ठ पनि एसईई नभएको अवस्थामा विद्यार्थीको प्रमाणपत्रको विश्वसनीयता माथि प्रश्न उठ्ने र मान्यतामै समस्या आउन सक्ने बताउँछन् ।

एसईईमा हरेक वर्ष पाँच लाखभन्दा बढी विद्यार्थी सहभागिता हुँदै आएका छन् । सिकाइको सही मापन र विद्यार्थीमा बढी मिहिनेत गर्ने बानीको विकासका लागि एसईई आवश्यक रहेको मानिए पनि यसलाई विद्यार्थीमाथि अनावश्यक मानसिक तनाव सिर्जना गर्ने माध्यमका रुपमा भने विकसित गरिनु हुँदैन । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।