
काठमाडौं । भौतिक पूर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले ठेक्का तोड्नु सरकारको बाध्यता रहेको बताउनुभएको छ ।
सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले सरकारले धेरै वर्षसम्म काम नभएका ठेक्का तोडेर व्यवस्थापन गर्ने काम गरिररहेको बताउनु भयो । उहाँले कम बजेटमा ठेक्का लिने, काम नगर्ने र जनतालाई दुःख दिने काम भएकोले बाध्य भएर ठेक्का तोड्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।
उहाँले सबै निर्माण व्यवसायी गलत भने नभएको बताउनु भयो । समयमा नै काम गर्ने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई प्रोत्साहन गर्ने गरेको उहाँकाे भनाइ थियाे । निर्माणमा समस्या देखिएका केही ऐन र नियामावलीमा संशोधन गर्ने तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।
निर्माण व्यवसायी विना देशको सम्रग विकास सम्भव नहुने उल्लेख गर्नुहुँदै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताउनु भयो । विकास बजेट खर्च निर्माण व्यवसायीमार्फत मात्रै हुने उहाँको भनाइ छ । निर्माण व्यवसायीको क्षमता विकास गर्नतिर ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले सडक बोर्डमार्फत काम गर्नको लागि धेरै नै माग आउने गरेको बताउनु भयो । तर बजेट धेरै कम भएकोले मागअनुसार काम गर्न समस्या रहेको उहाँको भनाइ छ । उहाँले संघीयताको मर्म नबुझ्दा सडक मर्मतका काममा समस्या देखिएको पनि बताउनु भयो । स्थानीय तह र प्रदेशले मर्मत गर्ने सडकलाई पनि संघिय सरकारलाई देखाएर काम नहुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।