
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ ।
म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरूआत गर्नुभएको हो । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवर्द्धक कम्पनी एभरेष्ट इनर्जी एन्ड इन्फ्रास्ट्रचरले जनाएको छ ।
कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत् गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरूङ र विद्युत् गृह निर्माण थालिने जानकारी दिनुभयो । अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत् गृह रहने आयोजनाको चार किलोमिटर सुरूङ रहनेछ ।
विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत् गृहको हेड ३ सय ३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट १६ करोड रूपैयाँ अनुमान गरिएको केसीले बताउनुभयो ।
रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १ सय ३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् ।