जनकपुर। आवश्यकता परेका बेला पानी नपर्नु अनि नचाहिएका बेला हुने वर्षाले मधेशका किसानलाई पीडामाथि पीडा दिने काम गरेको छ।
खडेरीको मार झेल्दै जसोतसो धानलगायतका बाली लगाए पनि गत असोजमा परेको पानीले साढे ६ अर्बभन्दा बढीको क्षति बेहोरेका मधेशका किसानलाई अहिलेको वर्षाले त झनै क्षति गरेको छ । मध्य कात्तिकमा परेको बेमौसमी वर्षाको मारमा सबैभन्दा बढी मधेशका किसान परेका छन् ।
लामो समयको खडेरीपछि भदौ महिनासम्म पर्खेर जसोतसो रोपेको धानमा क्षति त गरेको छ नै यतिखेरको वर्षाले दलहन, तेलहन, आलु, तरकारीलगायत नगदे बाली लगाउनसमेत समस्या भएको छ । झन्डै एक महिनाअघि पनि विजया दशमीका बेला वर्षासँगै आएको बाढीले मधेशमा सबैभन्दा बढी क्षति खेतीपातीमै गरेको थियो ।
मधेश प्रदेशमा ३ लाख ७० हजार १ सय ४५ हेक्टर बर्खे धान खेतीयोग्य जग्गामध्ये यस वर्ष ३ लाख २९ हजार ७ सय २५ हेक्टरमा जेनतेन रोपाइँ भयो । त्यसमध्ये असोजको बाढीले २ अर्ब ६२ करोड ८८ लाख बराबरको २६ हजार ९ सय ६७ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुग्यो ।
सबैभन्दा बढी रौतहटमा १४ हजार ९ सय ३५ र सबैभन्दा कम सिरहामा ३५ हेक्टरमा लगाइएको धानबाली नष्ट भयो । सिँचाइ र मलखाद अभावमा किसानले एक त समयमा रोपाइँ गर्न पाएनन् भने अर्कोतर्फ बेमौसमको वर्षाले पटकपटक क्षति पुर्याउँदा पनि किसानको मर्का कसैले सुनिदिएको छैन ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा धानबालीलाई मात्र होइन असोजको बाढीले माछा, तरकारी, फलफूल र उखु बालीमा समेत ठूलो क्षति पुर्याएको थियो । १२ करोड ९४ लाख बराबरको माछा, १ अर्ब १७ करोड २८ लाख बराबरको ३ हजार ९ सय ८७ हेक्टरमा लगाइएको उखु, २ अर्ब १२ करोड ३७ लाख बराबरको ३ हजार १ सय ७ हेक्टरमा लगाइएको तरकारी, ४२ करोड १९ लाखबराबरको ६ सय ८५ हेक्टरमा लगाइएको फलफुल र १३ करोड ४८ लाख २९ हजार बराबरको ४ सय ६९ हेक्टरमा लागाइएको अन्य बालीसहित ६ अर्ब ६१ करोड रूपैयाँभन्दा बढीको नोक्सानी किसानलाई भएको थियो ।