जनकपुर । जेन-जी आन्दोलनका कारण मधेश प्रदेशमा सरकारी भौतिक संरचना र जनप्रतिनिधिहरूको घरमा क्षति हुन गए पनि लगातारको वर्षाले भने किसानलाई राहत भएको छ ।
सिँचाई सुविधा नभएको जग्गामा साउन १५ गते पछि जसोतसो रोपेको धान खेतमा केही दिन यता पानी परेपछि धनुषा, महोत्तरीलगायतका जिल्लाका किसानहरूलाई राहत भएको हो । सोचेअनुसारको प्रतिफल प्राप्त नभए पनि लागत उठनेमा किसान विश्वस्त छन ।
मधेश प्रदेशमा बर्खे धान खेती हुँदै आएको कुल ३ लाख ७० हजार १ सय ४५ हेक्टर जग्गा मध्ये लामो समयको खडेरी र सुक्खा पछि साउन १५ गते यता सामान्य पानी परेका कारण ढिलो गरी १ लाख ७ हजार ६ सय ३८ हेक्टरमा बूढो बीउ रोपाइँ भएको थियो भने सिँचाइ अभावमा ४० हजार ४ सय १९ दशमलव ८३ हेक्टर जग्गामा धान रोपाइँ हुन सकेको छैन ।
खेतीपातीका लागि भुमि उर्वर रहे पनि सुक्खा खडेरी , सिँचाई समस्या, मलखादको अभाव लगायतका कारण यस वर्ष मधेश प्रदेशमा गत वर्षको तुलनामा १६ दशमलव ७४ अर्थात् २ लाख ११ हजार २ सय ४० दशमलव ७४ मेट्रिक टन धान उत्पादनमा ह्रास हुने भुमि व्यवस्था, कृषि तथा कृषि मन्त्रालयको अनुमान छ ।