सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी-१ जलविद्युत् आयोजनाको सुरूङ ब्रेकथ्रु गरिएको छ ।
निजी क्षेत्रको लगानीमा इलेक्ट्रो पावर कम्पनीले २ किमि ६ सय ३८ मिटर लम्बाइको सुरूङको चौडाइ र उचाइ समान ५ दशमलव २ मिटर लामो सुरूङ ब्रेकथ्रु गरिएको हो । पावर हाउस र ड्यामको काम पनि ८० प्रतिशत सम्पन्न भएको छ ।
सिभिल र इलेक्ट्रो मेकानिकलको काम सकेर कम्पनीले आगामी फागुनमै उत्पादन सुरू गर्ने लक्ष्य राखेको छ । आयोजनाको २०८० फागुनमा सुरूङ निर्माण सुरू गरिएको थियो ।
आयोजनाको लागत ९ अर्ब ५६ करोड अनुमान गरिएको छ । योसहित भोटेकोशी नदीमा यसअघि ४५ मेगावाटको भोटेकोशी र १०२ मेगावाटको मध्य भोटेकोशी सञ्चालनमा छन् भने ४६ मेगावाटको भोटेकोशी-५ निर्माणको तयारी भइरहेको छ ।