काठमाडौं । कुवेतमा ११ जना नेपालीको मृत्युपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकको सुरक्षा र सावधानीप्रति फेरि प्रश्न उठेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा दैनिक ४ देखि पाँच जनाको मृत्यु भइरहेको छ भने दैनिक दुईजना अंगभंग हुने गरेका छन् । बर्सेनि १३ सयभन्दा धेरैको मृत्यु र ६ सयभन्दा धेरै अंगभंग भइरहँदा यस्ता घटना न्यूनीकरण गर्न के गर्ने त ? सुमन पन्थले विज्ञहरुसँग कुरा गरेर तयार पारेको यो रिपोर्ट-
नेपालबाट दैनिक १५ सयभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक वैदेशिक रोजगार विभागको छ । तर यसरी जाने सबैले सुरक्षित रूपमा काम गर्न पाएका छैनन् । सम्बन्धित देशको कानुनबारे जानकारी नहुँदा र वातावरणमा घुलमिल हुन नसक्दा पनि नेपालीहरू मृत्युवरण गर्न वा घाइते हुन बाध्य छन् । यस्तो अवस्था आउन नदिन आप्रवासनका जानकार सोम लुईंटेलका केही सुझाव छन् ।
पहिलो- वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकलाई अनिवार्यरूपमा अभिमुखीकरण तालिम दिनुपर्छ । अहिले दिइँदै आएको तालिमको कोर्ष नै नयाँ बनाउनुपर्छ ।
दोस्रो- कुन देशमा के कामका लागि जाने हो त्यसका आधारमा श्रमिकलाई तालिम दिनुपर्छ । मलेसिया र साउदी अरेबियामा जाने श्रमिकलाई एकै प्रकारका तालिम दिएर हुँदैन । फरक-फरक गर्नुपर्छ ।
तेस्रो- श्रमिकले सम्बन्धित देशमा पुगेर कुन कम्पनीमा कस्तो काम गर्दैछन् भन्ने जानकारी सरकारी निकायमा हुनुपर्छ ।
अत्यधिक गर्मी हुने देश अर्थात् मध्यपूर्वमा पुगेका नेपाली श्रमिकमा मिर्गौलासम्बन्धी समस्या धेरै देखिने गरेको छ । यस्ता देशमा जानेहरूका लागि मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका तीन सुझाव छन् ।
पहिलो- मध्यपूर्वमा जाने श्रमिकले त्यहाँको भूगोल र वातावरणबारे राम्रोसँग जानकारी लिनुपर्छ ।
दोस्रो- काममा जानुअघि र कामकै सिलसिलामा पनि पर्याप्त पानी पिउनुपर्छ भन्ने जानकारी श्रमिकलाई दिलाउनुपर्छ । यसो गर्न सके हिट स्ट्रेसबाट उत्पन्न हुने समस्या समाधान हुनसक्छ ।
तेस्रो- मौसमअनुसारको खानपानको शैली श्रमिकलाई सिकाउनुपर्छ ।
नेपाली श्रमिकको कामकै सिलसिलामा पनि दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । यसबाट जोगिन वैदेशिक रोजगार विज्ञ युवराज बस्नेतका सुझाव कस्ता छन् त ?
पहिलो- श्रमिकले व्यवसायजन्य सुरक्षामा विशेष विशेष ध्यान दिनुपर्छ ।
दोस्रो- निर्माणसम्बन्धी काम गर्नेहरूका लागि सम्बन्धित कामको तालिम अनिवार्य दिनुपर्छ ।
तेस्रो- श्रमिकलाई सम्बन्धित ठाउामा पुगेपछि गर्ने कामबारे बेलैमा जानकारी दिएर सोहीअनुसारको अभ्यास गराए जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
श्रमका लागि विदेश पुगेकाहरूमा सम्बन्धित देशको कानुनबारे जानकारी नहुँदा वा कम हुँदा पनि समस्या पर्ने गरेको छ । जस्तो अहिले कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ जना नेपालीको मृत्यु भएको छ । जबकी त्यहाँ मदिरा बिक्री वितरणमा प्रतिबन्ध छ । प्रवासी नेपाली समन्वय समितिका सल्लाहकार कुलप्रसाद कार्कीका केही सुझाव छन् ।
पहिलो- सम्बन्धित देशको कानुन र नीतिनियमबारे अग्रिम जानकारी राख्नुपर्छ र श्रमिकलाई त्यसबारे जानकारी दिनुपर्छ । अहिले कानुन उल्लंघनको आरोपमा एक हजारभन्दा धेरै नेपाली श्रमिक विदेशका जेलमा छन् ।
दोस्रो- कतिपय श्रमिकले आत्महत्या गर्ने गरेका छन् । त्यस्ता घटना हुन नदिन श्रमिकलाई मनोपरामर्शको खाँचो छ ।
तेस्रो- गन्तव्य मुलुकमा के गर्न पाइन्छ, के पाइँदैन भन्ने जानकारी श्रमिकले लिनुपर्छ र सरकारले यसबारे जानुपूर्व दिनुपर्छ । त्यस्तो जानकारी दिने व्यवस्था सम्बन्धित देशमा रहेको नेपाली दूतावासले पनि दिन सक्ने व्यवस्था मिलाउनुपर्छ ।
नेपाल जस्तै धेरै श्रमिक विदेश पठाउने देश फिलिपिन्सले आफ्ना श्रमिकको चुस्तदुरुस्त अभिलेख राख्नेदेखि पूर्वअभिमुखीकरण तालिम दिइरहेको छ । तर नेपालमा रेमिट्यान्सको मात्र गणना गर्ने गरिएको छ ।
न त श्रमिकको चुस्त अभिलेख छ न तालिम । आप्रवासन क्षेत्रमा व्यापक सुधार गर्ने घोषणा गरेको सरकारले काम गर्न ढिलाइ गर्दा विदेशी भूमिमा पुगेर श्रम गरिरहेका मजदुरको सुरक्षा जोखिम कायमै देखिएको हो ।