
काठमाडौं । नेपालीले मनाउने ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौंमा सवारी साधनहरूको प्रदर्शनी सुरू भएको छ ।
दशैं-तिहार जस्ता ठूला चाडपर्वमा सवारी साधनको खरिद बिक्री बढ्ने भएकाले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आजदेखि नाइमा एक्स्पो सुरु गरेको हो । आइतबारसम्म चल्ने एक्स्पोमा व्यवसायीले नयाँ मोडलका सवारी साधन प्रदर्शनी र बिक्रीमा राखेका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले गरेको एस्क्पोमा दुईपांग्रेका १५ र चारपांग्रेका १५ नयाँ मोडलका गाडी सार्वजनिक गरिएको छ ।
यही एक्स्पोमा व्यावसायिक प्रयोजनमा आउने ५ नयाँ मोडलका गाडीसमेत राखिएको छ । छुट अफरसहित पाँच दिनसम्म चल्ने एक्स्पोले उपभोक्तालाई आकर्षण गर्ने र ८० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोगकको छ । एक्स्पोको अन्तिम दिन सवारीसम्बन्धी बहससमेत गरिने छ ।
कार्यक्रमको उद्घाटन गर्न पुग्नुभएका अर्थमन्त्री विष्णु पौडेल समक्ष व्यवसायीले नीतिगत स्थिरता र सडकको गुणस्तर सुधार गर्न माग गरेका थिए । अर्थमन्त्री पौडेलले भने चालु आर्थिक वर्षको बजेटमा नीतिगत स्थिरताका लागि नै सवारीसाधनको करमा धेरै हेरफेर नगरेको दाबी गर्नुभयो ।
उहााले पूर्वपश्चिम राजमार्गलाई द्रुतमार्गका रुपमा विकास गर्ने प्रयास सरकारले गरिरहेको जानकारी दिनुभयो । ग्राहक तान्नका लागि व्यवसायीहरूले एक्स्पोमा छुट पनि दिने घोषणा गरेका छन् । यो छुटले उपभोक्तालाई कति आकर्षण गर्छ भनेर एक्स्पोको अन्तिम दिनसम्म कुर्नुपर्ने छ ।