काठमाडौं । परम्परागत भन्दा धेरै फरक । कालो र सेतोमात्र होईन डेढ दर्जनभन्दा बढी प्रकारका चियाका मेन्यु । पसलको नाम पनि त्यस्तै रोचक- चिया संगीत, चियातन्त्र, बड्डा चिया, चिया मन्त्रालय, चिया विभाग, चिया स्पट, यस्तै यस्तै ।
स्वागत छ, तपाईं जेन जी पुस्ताले सञ्चालन गरेको चिया पसलमा हुनुहुन्छ । केही वर्षयता चिया व्यवसायमा युवा पुस्ता अर्थात् ‘जेन–जी’ पुस्ता सक्रिय भएको छ । र, युवा पुस्तामाझ चिया स्टार्ट-अपको पर्याय बनेको छ । आउनुस् ‘जेन–जी’ पुस्ताले चलाएको चिया स्टार्ट-अपको कुरा गरौं ।
काठमाडौंमा बिजनेश एडमिनिस्ट्रेसनमा स्नातक गरिरहेका २२ वर्षीय रमेश रेउले पढाईसँगै आफ्नै चिया पसल पनि चलाईरहनुभएको छ। मैतिदेवीमा रहेको उहाँको चिया पसलको नाम हो- बड्डा चिया । परिवारको आधा र आफ्नै बचतको आधा रकम गरेर १२ लाख लगानी भयो। चार महिनाअघि सुरू गरेको यो चिया पसलको व्यापार राम्रै छ, आधा लगानी पनि उठिसक्यो ।
पत्रकारिताका विद्यार्थी २८ वर्षिय आशिस रेग्मीको पनि सामाखुसीमा चिया पसल छ “चियातन्त्र ” । व्यवसाय सुरू गर्ने पहिलेदेखिको चाहना पूरा गर्न अहिलेका लागि सजिलो उपाय आशिसलाई चिया पसल नै लाग्यो।
चियाप्रतिको आफ्नै लगावलाई व्यवसाय बनाउनेहरू पनि छन्। बुटवलका सुरज बस्याल र श्रीधर अधिकारीले शंखमुलमा खोले चिया संगीत । टिकटकमा काठमाडौंमा खुलेका अन्य चिया पसलका भिडियो देखेरै उहाँहरू त्यहाँ चिया पसल खोल्न आतुर भएका हुन् ।
अहिले काठमाडौंमा २ वटा पसल चलाइरहेका उहाँहरू चाबहिलमा अर्को आउटलेट खोल्ने तयारीमा हुनुहुन्छ । परम्परागत चिया पसलभन्दा फरक सेट अप र इन्टेरियर, मेन्यूमा पनि दूध हालेको र नहालेको बाहेक अनेक प्रकारका चियाको सूची र पसलको नाम पनि आकर्षक ।
विद्यार्थी उमेरमै युवाहरूले चलाइरहेका चिया पसलमा त्यहिँ उमेरका ग्राहकको भिड देखिन्छ। नेपालीहरूको चियाप्रतिको लगावलाई व्यवसायमा रूपान्तरण गरेका युवाहरूको यस्ता प्रयासले युवाहरूलाई सामाजिकिकरण गर्ने काममा पनि योगदान पुर्याएको देखिन्छ ।
झट्ट हेर्दा स्टार्ट अपका रूपमा चिया व्यवसायमा जेन-जी पुस्ताको अग्रसरता उत्साहजनक देखिन्छ। साथै, परम्परादेखि चल्दै आएको चिया कल्चरलाई आफ्नै तरिकामा ब्रान्डिङ गर्ने सिर्जनशिलता पनि देखिन्छ । बजारको माग र लगानी विस्तार गर्दै उत्पादनमा नविनता र विविधिकरण गर्ने उपाय पनि यी उद्यमी सुनाउँछन्।
ज्युँदै मर्याको भनी नाम कस्को? उद्यम बिना बित्दछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको कवितांशको मर्म अनुरूप उद्यमप्रति युवाहरूको लगाव त उत्प्रेरक छ । यी उद्यमीहरूको उद्यम उमेरको जोश र रहरमा मात्र भने सिमित नबनोस् ।