चीनमा मासु निर्यातको उद्योगका लागि २० अर्ब रुपैयाँको लगानी स्वीकृत

श्रावण १९, २०८२ |सुमन पन्थ
चीनमा मासु निर्यातको उद्योगका लागि २० अर्ब रुपैयाँको लगानी स्वीकृत

काठमाडौं । उद्योग विभागले नेपालमा उत्पादन भएका राँगाभैंसीको मासु निर्यातका लागि उद्योग सञ्चालन गर्न २० अर्ब रुपैयाँको लगानी स्वीकृति गरेको छ । चिनियाँ लगानीकर्ताले कम्तिमा पाँच हजारलाई रोजगारी दिने र वार्षिक  २ लाख टन मासु निर्यात गर्न २० अर्बको लगानी गर्ने अनुमति पाएको हो । विज्ञहरुले यसको दिगोपना कायम गर्दै उत्पादन अभिवृद्धिका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

चीनको छङ्दु जियान फुड कम्पनी लिमिटेडले नेपालबाट राँगाभैंसीको मासु चिनियाँ बजारमा पुर्‍याउने उद्देश्यसहित मासु प्रशोधन उद्योग सञ्चालन गर्न २० अर्ब रुपैयाँको लगानी स्वीकृति पाएको छ । आगामी भदौबाटै उद्योग निर्माण सुरु गर्ने र छिट्टै नेपालमा उत्पादन भएको राँगाभैंसीको मासु चीन निर्यात गर्ने गरी उद्योग विभागले लगानी स्वीकृति दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत वर्षको चीन भ्रमणका क्रममा दुई देशबीच मासु निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकलमा हस्ताक्षरसँगै प्राविधिक टोलीले प्रयोगशालाका स्तरोन्नतिका विषयमा गृहकार्य गरिरहेको छ । यता विज्ञले भने वाषिर्क २ लाख टन मासु निर्यातका लागि व्यवसायी भैंसीपालन सुरु गर्न सुझाएका छन् । त्यसका अतिरिक्त लम्पि स्किन र व्यापारका अवरोधका रुपमा रहेको खोरेत रोग नियन्त्रणमा पहल गर्न सुझाएका छन् ।

पशुसेवा विभागका अनुसार अहिले नेपालमा ३० लाख हाराहारीमा मात्र राँगाभैंसी छन् । चिनियाँ बजारमा मासु पुर्‍याउन यो संख्या निकै कम हो । अपेक्षाकृत राँगाभैंसीको उत्पादन बढाउन सकेमा मात्र नेपालले लाभ लिन सक्नेछ । अहिले नेपालबाट ५ अर्बभन्दा बढीको मासु र दुग्धजन्य पदार्थ निर्यात हुँदै आएको छ । अब चिनियाँ बजारमा समेत मासु निर्यात गर्दा अहिलेको व्यापार सहजै दोब्बर पार्न सकिन्छ । तर त्यसका लागि उत्पादन बढाउँदै अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्नु नै मुख्य चुनौती हो ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।