व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
व्यापार घाटा १५ खर्ब २७ अर्ब, निर्यातले रेकर्ड तोड्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१/८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनमा १ खर्ब भन्दा बढिले वृद्धि भएको हो ।

नेपालको वैदेशिक व्यापार घाटा २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यहोरेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ब्यापार घाटा व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यो व्यापारघाटा ६ प्रतिशतले बढेको हो ।

नेपालले खासगरी, भारत, चीन लगायतका देशहरूसँग ठूलो मात्रामा वैदेशिक व्यापारमा घाटा व्यहोर्दै आएको छ । परनिर्भरताले सीमा नाघ्दा सियोदेखि सुनसम्म नेपालले विदेशबाट आयात गर्दै आएको छ ।

नेपालले २०८१/८२ मा २० खर्ब ८ अर्बको वैदेशिक व्यापार गरेको थियो । भन्सार विभागकाअनुसार १८ खर्ब ४ अर्बको वस्तु आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढेको छ ।

यस्तै, निर्यात वृद्धिले रेकर्ड तोडेको छ । २०८१/८२ मा नेपालले २ खर्ब ७७ अर्बको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आवको तुलनामा ८१ दशमलव ८० प्रतिशतले बढी हो । अघिल्लो आव २०८०/८१ मा १ खर्ब ५२ अर्बको मात्रै वस्तु निर्यात गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.