जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरू सहिद घोषित, मृतकका परिवारलाई १० लाख दिइने

आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने प्रधानमन्त्री कार्कीको भनाइ
भाद्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरू सहिद घोषित, मृतकका परिवारलाई १० लाख दिइने

काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको छ । 

पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गर्नुभएको हो ।

साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रूपैयाँ राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहणपछि जनतालाई दिइने सेवा प्रवाहमा गम्भीर हुन मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिनुभयो । उहाँले जेन-जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताउनुभएको छ ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उहाँले यसबारे छानबिनपछि सत्यतथ्य बाहिर ल्याउने बताउनुभयो । उहाँले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्सलगायतका सरकारी कार्यालयहरूमा भएको आगजनी लज्जास्पद भएको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.