काठमाडौं । अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा भएको आमनिर्वाचन सम्पन्न गराउनका लागि आफू सहयोग गर्न तयार गरेको बताएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी निर्वाचनमा सहयोग गर्ने बताएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै यो अवस्थामा आउनका लागि आन्दोलन गरेका युवा र अन्तरिम सरकार गठनका लागि सहजीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसासमेत गरेको छ ।
दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग अमेरिका सहकार्यका लागि तयार रहेको बताएको छ । यस्तै नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणकाललाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानसमेत गरेको छ ।
यसैबीच, चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभएको हो ।