फौजी किराको प्रकोपले ४० जिल्लाको मकैबारी प्रभावित हुँदा नियन्त्रणमा भने बेवास्ता

विषादी प्रयोग गर्ने नार्कको सिफारिसले राहत दिएन
जेष्ठ २७, २०८२ |सुमन पन्थ
फौजी किराको प्रकोपले ४० जिल्लाको मकैबारी प्रभावित हुँदा नियन्त्रणमा भने बेवास्ता

काठमाडौं । मकैबालीमा लाग्ने अमेरिकन फौजी किराको प्रकोपबाट देशका ४० जिल्ला प्रभावित भइसक्दा पनि नियन्त्रणमा बेवास्ता गरिराखिएको छ । मकैको गुभोदेखि बोटसम्मै सखाप पार्ने यो किराले भित्री मधेश र तराईका जिल्ला प्रभावित भएका छन् भने पहाडी जिल्लामा समेत किराको प्रकोप देखिन थालेको छ । तर, नियन्त्रणमा तीनै तहका सरकारले चासो देखाएका छैनन् ।

गण्डकी र मधेश प्रदेशका किसान तथा प्राविधिकलाई २ वर्षअघि अमेरिकन फौजी किराका नियन्त्रणको तालिम दिइए पनि अन्य प्रदेशमा भने यस सम्बन्धी कुनै पूर्वतयारी छैन ।

अमेरिकन फौजी किराको प्रकोपबाट यो वर्ष ४० जिल्ला प्रभावित भइसकेको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । खासगरी भित्री मधेश तथा तराईका जिल्लामा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

अमेरिकन फौजी किरा पहिलो पटक २०७६ वैशाखमा नवलपुरमा देखिएको थियो । त्यसयता लगातार यो किराले मकैबालीमा क्षति पुर्‍याइरहे पनि नियन्त्रणका लागि तीनै तहका सरकारले चासो देखाएका छैनन् । यही कारण ९० प्रतिशत किसान यस रोगका बारेमा अनभिज्ञ छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थानीय कार्यालयबाट रोग नियन्त्रण उपायबारे जानकारी लिन र आफूले सिफारिस गरेका विषादी प्रयोग गर्न सुझाएको छ । तर यो सीमित उपायले किरा नियन्त्रण भइरहेको छैन ।

अमेरिकन फौजी किराको लार्भाले मकै उम्रेदेखि नै आक्रमण सुरु गर्छ भने पात, डाँठ, घोगा र बोट नै सखाप पार्छ । एउटा पातमा दुई सयसम्म अण्डा पार्न सक्ने अण्डाबाट निस्कनेबित्तिकै लार्भाले हरियो पात खान थाल्छ । रोग नियन्त्रणका लागि विधि बनाइसके पनि कार्यान्वयनमा जान समय लागेको सरकारी अधिकारीहरूको भनाइ छ । यता प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भने पालिका तहसम्मका प्राविधिकको क्षमता विकासमा जोड दिएको छ ।

प्राविधिकहरूका अनुसार यो फौजी किराको लार्भा अवस्थाले मकैलगायत ३५३ प्रकारका बालीनालीमा नोक्सानी पुर्‍याउँछ भने वयस्क पुतली एकै रातमा पाँच सय किलोमिटर टाढासम्म जान सक्छ । यसको प्रकोप तराईका जिल्लामा मात्र नभई पहाडी जिल्लामा समेत देखिएको छ । जलवायु परिवर्तनले खाद्य प्रणालीमै असर गरिरहेको अवस्थामा यस्ता रोग तथा किराको नियन्त्रणमा पनि तत्काल ध्यान पुर्‍याउनु जरुरी छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।