किन बढिरहेछ सुनको मूल्य ?

चैत्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
किन बढिरहेछ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला १ लाख ८६ हजार पुगेर नयाँ रेकर्ड कायम भएको छ । गत शुक्रबारको तुलनामा आतइबार प्रतितोला १ हजार रुपैयाँले बढेको हो । 

पछिल्लो समयमा अमेरिकाले लिएको व्यापार नीति, रूस-युक्रेन युद्ध, अमेरिका र चीनको बीचको तनावका कारण विश्वका लगानीकर्ताले सुनमा लगानी गर्न थालेको हुन् । अन्तर्राष्ट्रिय बजारमा देखिएको व्यापारको उचारचढाव घरेलु बजारमा पनि देखिएको हो ।

“एउटा कारण भूराजनीतिक तनाव नै हो । युक्रेन-रूसबीचको युद्ध र इजरायल-हमास युद्ध । दोस्रो कारण अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चुनावी घोषणापत्रमा तीन वटा कुरालाई प्राथमिकता दिएका थिए- डलरलाई रिजर्भ करेन्सीमा विकास गर्ने, आर्थिक क्षेत्र सुधार गर्ने र युद्धविराम गर्ने । त्यसो हुँदा त्यति बेला सुनको मूल्य घटेको थियो । तर अहिले फेरि बढ्यो किनकि उनले भने बमोजिम भएन । कर नीतिमा फेरबदल हुँदा आर्थिक क्षेत्रमा ठूलो हलचल भयो”, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

डलर कमजोर हुँदा मानिसहरूले सुरक्षित लगानीका लागि धमाधम सुन किनेकाले पनि सुनको मूल्य बढेको उहाँको तर्क छ ।

सामान्यतया नेपाली बजारमा दैनिक २० केजी सुन खपत हुने गरेको भए पनि अहिले दैनिक ७ केजी पनि हुन सकिरहेको छैन । मूल्य बढी हुँदा बजार चालयमान हुन नसकेको व्यवसायीहरूको भनाइ छ । 

आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.