काठमाडौं । नयाँ वर्षलाई लक्षित गरेर चितवनको नारायणगढमा आजदेखि ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाको आयोजनामा क्याम्पाचौरमा चलेको एक्स्पोको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यस एक्स्पोले नेपाली उत्पादन प्रवर्द्धन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वैशाख २ गतेसम्म चल्ने एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ६ बजेसम्म चल्नेछ । अपराह्न ५ बजेदेखि राति ९ बजेसम्म फुड फेस्टिभल तथा सांगीतिक कन्सर्ट हुने मञ्चका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो । एक्स्पोमा १०० भन्दा बढी स्टल छन् । जहाँ जुत्ता, कपडा, चिया, क्राफ्ट, साबु, मसला, मह, अचार लगायतका नेपाली उत्पादनका ब्रान्डहरू छन् ।
विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरूबाट स्टार्टअप आइडिया पिचिङ, कविता वाचन, प्रेरणादायी भाषण र नवप्रवर्तनपरक प्रस्तुतिहरू हुने आयोजकले जनाएको छ । कार्यक्रम अवधिमा तीन दिन तीन फरक विषयमा युवामुखी प्यानल छलफलहरू हुनेछन् ।