काठमाडौं । लोडसेडिङ हुने-नहुने विषयमा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले फरक-फरक कुरा गर्न थालेपछि आमनागरिकमा अन्योल सिर्जना भएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले संसद् बैठकमै अब घर-घरमा पनि लोडसेडिङ हुने बताएपछि विद्युत प्राधिकरणले त्यसको प्रतिवाद गरेको छ । संसद्मा समेत यो विषयमा सांसदहरुले प्रश्न उठाएका छन् ।
खासमा अहिलेको स्थिति के हो त ? मन्त्री खड्काले भनेजस्तो लोडसेडिङ हुने स्थिति हो कि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेजस्तो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगमा मात्रै बिजुली काटिने स्थिति हो ?
बल्लबल्ल लोडसेडिङको मार बिर्सिन लागेका नेपाली जनतालाई नै उर्जामन्त्री दीपक खड्काले फेरि लोडसेडिङ हुन्छ भन्दै तर्साउन थाल्नुभएको छ । तर उर्जा मन्त्रीको यस्तो गैरजिम्मेबार अभिव्यक्तिको खण्डन नेपाल विद्युत प्राधिकरणले नै गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल घर-घरमा लोडसेडिङ नहुने भन्दै उर्जा मन्त्रीको भनाइमा प्रतिवाद गर्नुभएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले बुधबारको राष्ट्रिय सभा बैठकमा अब घर-घरमा लोडसेडिङ हुने बताउनुभएको थियो। मन्त्रीबाट नै लगातार यस्ता कुरा आएपछि नागरिकमा पुनः लोडसेडिङको मार खेप्नुपर्ने हो कि भन्ने अन्योल र चिन्ता छाएको छ ।
बिहीबारको संसद् बैठकमा पनि सांसदहरुले सरकारले नै भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाए । पछिल्लो समय भारतले दिने बिजुलीमा कटौती गरेपछि प्राधिकरण डेडिकेटेड र ट्रंकलाइन लिएर बक्यौता नतिर्ने उद्योगहरुमा लोडसेडिङ् गरिरहेको छ ।
घर घरमा भने अहिले नै समस्या छैन । तर उर्जा मन्त्रीले यसैलाई बढाइचढाइ गरेर लोडसेडिङको हल्ला गरिरहनु भएको छ।
तर, मन्त्रीले पेश गरेको तथ्यांक समेत गलत छ । बुधबार मध्याह्न १२ बजे भारतबाट सबैभन्दा बढी अर्थात् ७ सय २५ मेगावाट आयात भइरहेको थियो । तर मन्त्रीले ८ सय ३० मेगावाट बताउनु भयो र, मन्त्री खड्काले आन्तरिक उत्पादन १ हजार मेगावाट मात्र रहेको बताएकोमा बुधबार साँझै प्राधिकरणले १६ सय मेगावाट स्वदेशी उत्पादनबाटै पुर्याएको थियो ।
जसअनुसार निजी क्षेत्रले ६ सय, प्राधिकरणका सहायक कम्पनीबाट २ सय र प्राधिकरणका आयोजनाबाट ८ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ। बुधबार बिहान घरघरमा हुने बिजुलीको माग ६ सय मेगावाट थियो भने दिउँसो ४ सय र साँझ १६ सय पुगेको थियो ।
अर्थात् बिजुलीको उच्च खपत हुने समयमा स्वदेशमा उत्पादित बिजुली गार्हस्थ स्तरलाई मात्रै पुगिरहेको छ । प्राधिकरणले बक्यौता नतिर्नेलाई मात्र लोडसेडिङ गरेको दावी गरेपनि अन्य उद्योगहरुले समेत लामो लोडसेडिङ खेप्नुपरेको गुनासो छ ।
नेपाल उद्योग परिसंघले पनि देशमा १२ घण्टा उद्योगले लोडसेडिङ खेप्नु परेको भन्दै यसले लागत बढेर उत्पादनमै गम्भीर असर गरिरहेको जनाएको छ । प्रसारण लाइनको क्षमता नभएका कारण र उत्पादन नै कम हुादा प्राधिकरणले उद्योगको कुल ६ सय मेगावाट बिजुली माग पूर्ति गर्न सकेको छैन ।
प्रसारण लाइन निर्माण तथा बिस्तार भइरहेका क्षेत्र हेटौंडा र लालबन्दीका स्थानीयको अवरोध भइरहेको छ, जसका कारण मुजफ्फरपुरबाट आएको बिजुली दुहबी, परवानीपुर र बुटबल क्षेत्रका उद्योगमा पुर्याउन समस्या छ । यसलाई सल्टाउन न राजनीतिक नेतृत्व लागेको छ न त प्राधिकरण नै ।
गर्मी बढेसँगै पानीको बहाव बढिरहेको छ भने हिटर एसीको कम प्रयोग हुँदा तथा वर्षा पनि हुने भएकाले लोडसेडिङ हुने भन्दा नहुने अवस्था आउँदैछ । तर उर्जा मन्त्री लोडडसेडिङ हुन्छ भन्दै जनता तर्साइरहनु भएको छ ।