गौतमबुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडान थपिए पनि यात्रु संख्या बढेन

मंसिर ८, २०८१ |भुवन पाण्डे
गौतमबुद्ध विमानस्थल : अन्तर्राष्ट्रिय उडान थपिए पनि यात्रु संख्या बढेन

रूपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थपिँदै गए पनि यात्रु भने अपेक्षा गरिए अनुसार बढ्न सकेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका क्रममा भएकाले विकल्पमा भैरहवा उडान भरेका विमान कम्पनीहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिगो रूपमा उडान भर्न यात्रु बढाउनुको विकल्प छैन । तर, सरकारले विमान कम्पनीहरूलाई विशेष छुट दिए पनि हवाई टिकट अत्याधिक महँगो हुँदा भैरहवा ओर्लिने यात्रु बढ्न नसकेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा २३ वटा अन्तराष्ट्रिय उडान हुन थालेको छ । जसमध्ये चारवटा सीधा उडान हुन् भने बाँकी १९ वटा उडान ‘कनेक्टिभ’ हुन् । जजीरा एअरवेजले मंगलबार, बिहीबार र शनिबार कुवेत-भैरहवा सीधा उडान गर्छ । थाई एअर एसियाले बिहीबार बैंकक-भैरहवा उडान गर्दै आएको छ । नेपाल एअरलाइन्स, कतार एअरलाइन्स र फ्लाई दुबईले गर्ने उडान भने भैरहवा भएर काठमाडौं अथवा काठमाडौं हुँदै भैरहवा ट्रान्जिट भएर गन्तव्यतर्फ जाने गरेका छन् । जसरी उडान बढिरहेका छन् त्यो अनुसार भैरहवा ओलिर्ने यात्रु भने बढ्न सकेका छैनन् । सीधा उडान भरेका विमान कम्पनीहरूमा भने यात्रु चाप बढेको छ ।

हुन त विमान कम्पनीहरूलाई आकर्षित गर्न सरकारले अवतरण, सञ्चार तथा उड्डयन सेवा, सुरक्षा जाँच शुल्क, हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, इन्धन लगायतमा छुट दिएको छ । यो छुटले विमान कम्पनीहरूको लागत घटेको छ । विमान कम्पनीहरूले सस्तो प्याकेज बनाएर उडान भर्नु पर्नेमा टिकट दर झन् बढाएका छन् । भैरहवा भएर उडान भर्दै आएका विमान कम्पनीहरूले आउने महिनाहरूका लागि अग्रिम टिकट समेत खुलाएका छैनन् । यात्रुहरू महँगो टिकट काटेर विमान चढ्न बाध्य छन् ।

बौद्धमार्गी देशहरूमा हवाई सम्पर्क जोड्दै लुम्बिनीमा बाह्य पर्यटकको संख्या बढाउने उद्देश्यले विमानस्थल निर्माण भएको थियो । लुम्बिनीमा आध्यात्मिक क्रियाकलापहरू बढाएर प्रचारप्रसार गर्न सके श्रीलंका, भुटान, म्यानमार, भियतनाम, चीन, जापान, दक्षिण कोरिया लगायत देशबाट सीधा उडान गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन् । विमानस्थल र लुम्बिनीलाई चलायमान बनाउन पनि अब महिनाको दुई दिन रूपन्देहीमा बसेर मन्त्रालयको काम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले उद्घोष गर्नु भएको छ ।

विगतमा यात्रु नपाएर अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थल गएको कात्तिक १८ गतेदेखि पुनः व्यवसायिक रूपमा सञ्चालनमा आएको हो । यो बीचमा पाँच वटा विमान कम्पनीले ८५ वटा अन्तर्राष्ट्रिय उडान भरेका छन् । जसबाट दुई हजार पाँच सय ९३ यात्रु आउजाउ गरेका छन् भने तीन हजार २५ जना यात्रु ट्रान्जिट भएर गएका छन् ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।